८ मंसिर २०८१, शनिबार 1732377936
शिक्षा /स्वास्थ्य

तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र

म्याग्दी : बेनी नगरपालिका–९ तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । नेप्टेचौरमा रहेको वडा स्तरीय स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने ढोलथान, धुपीबोट, ढावा, तोरीपानी र आलवाङका बासिन्दालाई लक्षित गरेर बेनी नगरपालिकाले स्वास्थ्य सञ्चालन गरेको हो । बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले केन्द्रबाट पाँच वटा बस्तिका करिब पाँच सय घरका एक हजार सात सय जनसङख्या लाभान्वित भएका बताउनुभयो । “केन्द्रमा एक÷एक जना स्वास्थ्यकर्मी र सहयोगीको ब्यवस्थापन गरेर आधारभूत तहको स्वास्थ्य सेवा पाउने ब्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “पायक पर्ने ठाउँमा स्वास्थ्य इकाई भएपछि त्यहाँका बासिन्दालाई सहज भएको छ ।”

तोरीपानीको पशु सेवा केन्द्रसँगैको भवनमा सञ्चालन गरिएको केन्द्रबाट खोप, स्वास्थ्य परिक्षण, परामर्श, निशूल्क औषधी वितरणलगायत स्वास्थ्य चौकी सरहको सेवा प्रवाह हुने गरेको छ । घर नजिकै पायक पर्ने ठाउँमा स्वास्थ्य सेवा पाउँदा सहज भएको स्थानीयबासी गंगाबहादुर बानियाले बताउनुभयो । “यसअघि नेप्टेचौर पुग्न र घर फर्कन डेढ घण्टा भन्दा बढी समय पैदलयात्रा गर्नुपर्दथ्यो,” उहाँले भन्नुभयो “जेष्ठ नागरिक, अशक्त, महिला, बालबालिकालाई धेरै सजिलो भएको छ ।” बेनी नगरपालिका–९ का जनप्रतिनिधीहरुले वि.स. २०७९ को स्थानीय तह चुनाव निर्वाचित भएपछि पदभार सम्हाल्ने क्रममा तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय गरेका थिए । चुनावको क्रममा मतदातासँग गरेको प्रतिवद्धता र वडा समितिको पहिलो निर्णय तेस्रो वर्षमा कार्यान्वयन गर्न सफल भएको वडा सदस्य गणेश सुवेदीले बताउनुभयो । उक्त वडाको गलेश्वरमा यसअघिनै सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको थियो ।