९ मंसिर २०८१, आइतबार 1732447805
Banner

रविलाई आज कास्की अदालत उपस्थित गराइँदै

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो । आज पनि प्रहरीले म्याद थप माग्नेछ । काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप थपेर क्रमशः उनलाई काठमाडौँ र चितवन लाने प्रहरीको तयारी छ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआइजी) छविलाल जोशीलाई काठमाडौँ लगेर बयान लिइसकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी परेपछि बयानका लागि लगिएकाे हो । यो प्रकरणमा  रवि लामिछानेविरुद्ध समेत काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोले अब उनलाई पनि बयानका लागि काठमाडौँ लगिने भएको हो । एउटैखाले प्रकरणमा अर्का आरोपी कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा ल्याइएकाे छ । यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही लगेर जोशी र लामिछानेसँगै  बयान लिइएको थियो ।