३ आश्विन २०८१, बिहिबार 1726783109
Banner

पोखरामा गठबन्धन विवाद कायमै : संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताको अवरोध

पोखरामा — पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेसकै कार्यकर्ताले अवरोध गरेका छन् । बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिकाका लागि संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि वडा तहमा भागबन्डा नमिलेको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजीसहित अवरोध गरेका हुन् ।

मेयर नेकपा एसलाई दिएकोमा रुष्ट रहेका कार्यकर्ताले वडा तहमा पनि कांग्रेसले जित्ने ठाउँ बाँडफाँट गर्न लागेको भन्दै विरोध गरेका छन् । उनीहरुले वडामा गठबन्धन नगर्न दबाब दिएका छन् । ‘गठबन्धन चाहिँदैन, रुख बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै कार्यकर्ताले घोषणापत्र सार्वजनिक गर्ने स्थलमा नाराबाजी गरेका छन् ।

एक्लै चुनाव लड्दासमेत जित्न सक्ने जनाधार बनाइसकेको भन्दै कांग्रेस, कास्कीका नेताहरुले गठबन्धन आवश्यक नरहेको बताएका थिए । तर गठबन्धनको शीर्ष नेतृत्वले पोखरा महानगर प्रमुख नेकपा एकीकृत समाजवादी र उपप्रमुख नेपाली कांग्रेसले पाउने सहमति गरेको थियो ।

वडा नम्बर १८, २२ र २४ नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएपछि त्यहाँका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका हुन् । असन्तुष्ट कांग्रेस कार्यकर्ताले जिल्ला सभापति किशोरदत्त बराललाई कार्यक्रमस्थलमा प्रवेश नदिने बताएका छन् ।