१५ मंसिर २०८१, शनिबार 1732990414
समाचार

चीनले अनुदानमा दिएको उद्योग बेचेर खानेले बीआरआई अनुदानमा मागिरहेका छन्ः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आग्रह र पूर्वाग्रह छाडेर छिमेकी मुलुकहरुसँग दूरदर्शी भएर सम्बन्धको विकास गर्नुपर्ने बताएका छन् । चीनको इन्टिच्युसन फर फरियन अफेयर्सले आयोजना गरेको विश्व सम्मेलनमा सहभागी हुन् त्यतातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले छिमेकी मुलुक चीन र भारतसँग यथार्थसंगत ढंगले सम्बन्ध विकास गर्नुपर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्री खनालले चिनियाँ विकास परियोना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण अथवा अनुदान जे लिएपनि नेपालको राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्ने बताए । ‘चीनबाट हामीले ऋण लिउँ, चाहे अनुदान । नेपालको राष्ट्रिय हित हुन्छ कि हुँदैन ? सबैभन्दा सर्वोपरी कुरा त्यो हो । पहिला राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्छ । राष्ट्रिय हित हुन्छ भने त्यो जोबाट पनि लिँदा हुन्छ,’– उनले भने । नेपालले विश्व बैंक, आईएमएफ, एडीबीबाट ऋण लिन सक्छ भने चीनबाट ऋण लिन हुँदैन भन्ने कुरा नहुने पूर्व प्रधानमन्त्री खनालको भनाइ छ । उनले चीनले दिने ऋण अझ बढी सस्तोमा हुनसक्ने बताए । नेता खनालले पहिला चीनले अनुदानमा दिएका उद्योगहरु बेचेर खाएकाहरुले नै अहिले बीआरआई अनुदानमा हुनुपर्छ भनिरहेको बताए । नेपाली कांग्रेसलक्षित गर्र्दै उनले अनुदानमा लिएको बेचेर खाने अनि फेरि माग्न लाज लाग्दैन ? भन्दै प्रश्न गरे ।

‘हाम्रो देशले खाली भीख मागेर मात्रै काम गर्नुपर्छ भन्ने होईन । अहिले केही साथीहरु चीनबाट चाहीँ अनुदानमात्रै लिनुपर्छ भन्ने तर्क गरेको सुनिन्छ ।’ उनले भने, ‘तर, तिनै साथीहरुले हिजो चाइनाले अनुदानमा दिएर नेपालमा निर्माण भएका उद्योग धन्दाहरु कौडीको मोलमा बेच्ने साथीहरु तिनै हुन्, जो आजभोलि अनुदानमात्रै लिनुपर्छ भनिरहेका छन् । अनुदानमा लिएको कुरा चाहीँ बेचेर खाने, अनि अनुदान माग्न लाज लाग्दैन ?