काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका चार जना प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा लम्जुङ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–१ बस्ने २० वर्षीय सुमित तामाङ र २० वर्षीय सुसन तामाङ तथा धादिङ घर भई नागार्जुन नगरपालिका–१ बस्ने २५ वर्षीय उम्बे गुरुङ भन्ने उमेश गुरुङ र कान्छा भन्ने आशिष गुरुङ रहेका छन् । चार जनाले गत भदौ ३० गते साँझ काठमाडौँको गोंगबुस्थित क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङमाथि ज्यान लिने मनसायले काठ, फलामको कुर्सी, हेलमेट रड, सिसाको बोतल प्रहार गर्दै सख्त घाइते बनाएका थिए ।
उनीहरुविरुद्ध असोज ६ गते प्रहरी वृत्त महाराजगन्जमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको थियो । प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको आचार्यले जानकारी दिए ।