१९ मंसिर २०८१, बुधबार 1733353895
समाचार

पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई राष्ट्रिय परिचयपत्रसँग जोडिने

काठमाडौँ । वैदेशिक रोजगार विभागले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने भएको छ । त्यसका लागि विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच सम्झौता भएको छ । सम्झौता भएसँगै दुवै विभागका प्राविधिकहरूले अनलाइनसम्बन्धी काम गर्दै आएका छन् । विभागले अनिवार्य गर्न लागेको आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रको सिस्टमसँग जोड्न लागेको हो । विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले आईरिसलाई राष्ट्रिय परिचयपत्रसँग जोड्न प्राविधिक काम भइरहेको बताए । कक्षा कोठामा उपस्थित नै नभई तालिम लिएको भनेर प्रमाणपत्र लिने गरेको पाइएपछि आईरिस लागू गर्ने निर्णय गरेको थियो । आईरिसलाई समेत व्यवस्थित गर्नका लागि राष्ट्रिय परिचयपत्रसँग जोड्न लागिएको भनाइ छ । ‘राष्ट्रिय परिचयपत्रसँग जोडिएपछि तालिम लिएका व्यक्तिको रेकर्ड त्यहाँ जान्छ ।

त्यसपछि विदेश जाने व्यक्तिले नै तालिम लिए÷नलिएको अटोमेटिक थाहा हुन्छ । यसबाट तालिम नै नलिएर विदेश जान खोजेको रोकिनेछ,’ सुवेदीले भने । विभागले गत असोजदेखि नै आईरिस सिस्टम लगाउने निर्णय गरेको थियो । तालिम प्रदायक संस्थाहरूको अनुरोधमा रोकेर असोजको २९ गतेदेखि अनिवार्य लागू गर्ने भनेको थियो । तर, अहिलेसम्म अनिवार्य रूपमा लागू गर्न सकेको छैन । हाल आईरिस र बायोमेट्रिक दुवै सञ्चालनमा रहेको सूचना अधिकारी सुवेदीले बताए । व्यवसायीहरूले भने विभागमाथि चलखेलको आरोप लगाएका छन् । विभागका कर्मचारीहरू आर्थिक चलखेलमा लागेकाले अहिलेसम्म अनिवार्य गर्न नसकेको उनीहरूको आरोप छ । विभागले भने उनीहरूले लगाएको आरोपको खण्डन गर्दै आएको छ । सूचना अधिकारी सुवेदीले राष्ट्रिय परिचयपत्रसँग जोड्नका लागि काम भइरहेको केही दिनभित्रबाट अनिवार्य रूपमा लागू गरिने बताए । त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको बताए ।