काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निस्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निस्कर्ष निकालेको हो ।
बैठकपछि बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गरिएको बताए । उनले नेपाल—चीन सम्बन्धमा पारेका प्रभावको समीक्षा गर्दा भ्रमण सफल भएको निस्कर्ष निकालेको बताए । अन्य सम्झौताका अतिरिक्त बिआरआईमा भउको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि भएको एमालेको ठहर छ ।
सत्तामा रहेका प्रमुख पार्टीहरुको बीचमा भएको सहमतिले बिआरआईलाई निस्कर्षमा पुर्याउन सहयोग गर्नुका साथै भविष्यमा परराष्ट्र नीति र वाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको निस्कर्ष एमालेको छ । बिआरआई सहमतिमा दुवै देशले कार्यान्वयनमा जोड दिनुपर्ने एमालेको भनाइ छ ।
उनले भने, ‘प्रधानमन्त्रीज्युको हालै सम्पन्न चीन भ्रमण, त्यसमा भएको सम्झौता, त्यसले नेपाल—चीन सम्बन्धमा पार्ने प्रभावहरुको बारेमा समीक्षा गरेका छौँ । भ्रमण निकै सफल भएको निस्कर्ष निकालेका छौँ । अन्य सम्झौताका अतिरिक्त बिआरआईमा जुन सम्झौता भएको छ, त्यो नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि हो भन्ने बैठकले निस्कर्ष निकालेको छ ।सत्तामा रहेका प्रमुख पार्टीहरुको बीचमा जुन ढंगको अण्डरस्ट्याण्डिङ बनेको छ, यसले बिआरआईलाई निस्कर्षमा पुर्याउन त सहयोग गरेको छ नै भोलिका दिनमा परराष्ट्र नीति र वाह्य सम्बन्ध सञ्चालन गर्दा एउटा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको छ । भ्रमण निकै सफल रहेको निस्कर्षसहित बधाई ज्ञापन गरेका छौँ । दुवै देशले भएका सहमतिको शिघ्र कार्यान्वयनमा केन्द्रित हुनुपर्ने हाम्रो निस्कर्ष छ । मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरेका छौँ ।
समग्रमा नेकपा एमालेले थप उपलब्धि हाँसिल गरेको छ । हामीले जितेका सात वडाहरुमा पद रिक्त भएको थियो, सबै गरेर ४२ पदमा रिक्त थियो । एउटा अध्यक्ष, दुई उपाध्यक्षसहित समग्रमा ८ सिटमा विजय हाँसिल गरेका छौँ । तर यति हुँदाहुँदै पनि यो परिणामलाई गम्भीरतापूर्वक लिएका छौँ । खासगरी कीर्तिपुर नगरपालिका, १६ नम्बर वडा, केही वडाहरु जस्तो शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ, त्यो ढंगले परिणाम आउन नसकेको कुराप्रति गम्भीर भएका छौँ ।
अझ बढी शहरी जनमतसँग पार्टीलाई जोड्दै लैजानुपर्ने कुरामा निस्कर्ष निकालेका छौँ । सँगै यो दुई वर्षको बीचमा प्रायः जुन पार्टीले जुन ठाउँमा जितेको थियो, त्यहाँ जनमत परिवर्तन भएको देखिन्छ । मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएका छौँ । सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै मिस इन्फरमेसन र डिस इन्फरमेसनको माध्यमबाट जनतामा निराशा फैल्याउने, भ्रम फैल्याउने र कतिपय राजनीतिक दलका नेताहरुले आफ्नो क्षणिक स्वार्थका निम्ति त्यस्ता कुरालाई समेत बढावा दिने गरेको देखिएको छ । त्यो प्रवृत्ति किमार्थ उचित होइन । त्यस्तो अराजक प्रचारले कसैलाई लाभ दिँदैन ।’
बैठकले मंसिर १६ गते भएको उपनिर्वाचनको समीक्षासमेत गरेको छ । जसमा समग्रमा विगतको भन्दा धेरै सिट जिते पनि कुनैपनि पार्टीले जनताको मत आफ्नो साथमा राख्न नसकेकोमा समीक्षा गरेको उपमहासचिव ज्ञवालीले बताए ।