२६ जेष्ठ २०८३, मंगलबार 1781065613
फिचर

पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव

इनरुवा (सुनसरी) : आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ । नयाँवर्ष २०२५ को पूर्वसन्ध्यामा कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा १२ औँ भेडेटार ‘फुड फेस्टिभल’ आयोजना गरिने होटेल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले राससलाई जानकारी दिनुभयो । महोत्सवमा साँगुरीगढी–६ भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म विभिन्न ‘स्टल’ राखिने अध्यक्ष लिम्बूले बताउनुभयो ।

महोत्सवमा साँगुरीगढी क्षेत्रका कृषि तथा घरेलु उत्पादनको बजारीकरण पनि गरिने छ । महोत्सवका माध्यमबाट धनकुटाका प्रमुख पर्यटकीयस्थल शैलुङडाँडा, चाल्र्स भ्यु टावर, स्काइ ब्रिज, पाथीभरा मन्दिर, शङ्खेश्वर, भेडेटार पार्क, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङस्थल, धजेडाँडा, ओख्रे भ्यु टावर, नमस्ते झरना, साँगुरीगढी, नाम्जे गाउँ, अजङ्गको वरको रुख, थाउजेन्ड बिग बुद्ध, कार्कीछाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी, धजे पदमार्ग, झण्डीडाँडा र गालखाडीको प्रवद्र्धनमा योगदान पुग्ने विश्वास अध्यक्ष लिम्बूले व्यक्त गर्नुभयो ।

भेडेटार । भेडेटार वर्षभरि नै चहलपहल हुने पूर्वकै चर्चित पर्यटकीय क्षेत्र हो। त्यही भेडेटारबाट करिब चार किलोमिटर पूर्व–उत्तरमा पुगिन्छ एउटा सानो मगर बस्ती— थुम्की। जहाँ पुग्नेबित्तिकै लाग्छ, मानौँ प्रकृतिले आफैँले सजाएको कुनै ग्रामीण चित्रभित्र प्रवेश गरियो।

भेडेटारकै जस्तो चिसो मौसम, बादलसँग लुकामारी खेल्ने डाँडाकाँडा, अनि चिटिक्क परेका मगर बस्तीका घरहरू— थुम्कीको पहिलो दृश्यले नै जो कोहीको मन लोभ्याउँछ। गाउँको बीचमा रहेको टेकबहादुर मगरको घर अहिले केवल घर मात्र होइन, पाहुनाको स्वागत गर्ने आत्मीय आश्रय बनेको छ।

ग्रामीण जीवनशैलीको संरक्षणमा सामूहिक प्रयास

थुम्की सामुदायिक होमस्टेमा पुग्ने पाहुनाले यहाँ होटलको औपचारिकता होइन, आफ्नै घरको अनुभूति गर्छन्। टेकबहादुरको घरका ६ कोठामध्ये ४ कोठा पाहुनाका लागि छुट्याइएका छन्। यस्तै गरी गाउँका १९ घरधुरी मगर परिवारले आफ्ना घरका ४८ कोठा पाहुनाका लागि छुट्याएका छन्। जसमा एकै पटक करिब १ सय पाहुनालाई बस्न र खानाको सुविधा उपलब्ध छ।

पछिल्लो समय थुम्की केवल बस्ने ठाउँ होइन, अनुभव गर्ने गन्तव्य बनेको छ। यहाँ मौसम हरेक पलपलमा बदलिन्छ। एकछिन घामले डाँडा सुनौलो बनाउँछ, अर्कोछिन बादलले पुरै गाउँ ढाकिदिन्छ। समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेको थुम्कीमा यही मौसमको परिवर्तनले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउने गर्छ।

चर्चित नाम्जे गाउँको सामीप्यतामा थुम्की

थुम्कीबाट करिब पाँच सय मिटर पूर्वमा पर्छ नाम्जे गाउँ। सन् २०११ मा विश्व चर्चित अमेरिकी समाचार संस्था ९सीएनएन० ले विश्वका घुम्नैपर्ने उत्कृष्ट गन्तव्यहरूमध्ये नाम्जेलाई आठौँ स्थानमा राखेपछि यो क्षेत्र अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको थियो। त्यसपछि नाम्जे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा थुम्की पनि जोडियो।

थुम्की होमस्टेको अर्को विशेषता हो— मगर समुदायको परम्परागत ‘हुर्रा नाच’। साँझ पर्दै जाँदा स्थानीय बाजागाजासहित हुने नाचगानले पाहुनालाई गाउँको संस्कृतिसँग प्रत्यक्ष जोडिदिन्छ। पाहुनाले यहाँ केवल दृश्य मात्र होइन, मगर समुदायको जीवनशैली, संस्कृति र आत्मीयता नजिकबाट अनुभूति गर्न पाउँछन्।
घुम्न पुगेकाहरूका लागि यहाँको स्थानीय स्वाद अर्को आकर्षण बनेको छ। अर्गानिक उत्पादनबाट तयार गरिने ढिँडो, गुन्द्रुक, लोकल कुखुराको मासु र स्थानीय परिकारले पाहुनाको मन जित्ने गरेको छ। सामान्य शुल्कमै बस्न र खानाको सुविधा पाइने भएकाले थुम्की धेरैका लागि सस्तो तर अविस्मरणीय गन्तव्य बनेको छ।

एक कार्यक्रममा सहभागी हुन थुम्की पुगेकी सोलुखुम्बुकी गोमा बस्नेत भन्छिन्, ‘चार दिन बसेको पत्तै भएन। यहाँको वातावरण, संस्कृति र मानिसहरूको व्यवहारले आफ्नै घरमा बसेजस्तो अनुभूति भयो।’

एकै पटकमा १ सयलाई खाना र बस्ने सुविधा

थुम्की सामुदायिक होमस्टेका सदस्य टेकबहादुर मगरका अनुसार स्थानीय १९ घर परिवारले अहिले थुम्कीमा सामुदायिक होमस्टे सञ्चालन गरेका छन्। जसमा ४८ कोठामा दुई जनाको दरले एकै पटक एक सय जना पाहुनालाई बस्ने र खानाको सुविधा उपलब्ध छ।

घुम्न वा कार्यक्रम लिएर थुम्की होमस्टे पुग्ने पाहुनाले स्थानीय अर्गानिक उत्पादनबाट तयार गरिने ढिँडो, गुन्द्रुक, लोकल कुखुराको परिकारको स्वाद लिन पाउनेछन्। ५ सय रुपैयाँमा एक जनाले एक रात बास, लोकल कुखुराको मासु–खाना र बिहानीको खाजा उपलब्ध हुनेछ।

टेकबहादुरका अनुसार त्यहाँ पुग्ने पाहुनालाई सामूहिक रूपमा खाना खुवाउने र सुताउने व्यवस्था मिलाइएको छ। जसले गर्दा होमस्टेमा बासका लागि पुग्ने पाहुनाले फरक–फरक घरमा खाना खाने झन्झट नभई सामूहिक रूपमा एउटै घरमा खानाको स्वाद लिन सक्नेछन्।

मगर संस्कृतिको जगेर्ना

थुम्कीको अर्को विशेषता— मगर समुदायको हुर्रा नाच हो। पाहुनालाई स्वागत गर्ने यो परम्परागत संस्कारले ग्रामीण जीवनशैली, मगर जातिको संस्कृति र उनीहरूको मीठो आतिथ्य एक पटक अनुभूति गर्न पाइन्छ। भारतसहित तराईका झापा, मोरङ, सुनसरी, उदयपुर लगायत विभिन्न जिल्लाबाट पर्यटकहरू घुम्न तथा बस्न थुम्की पुग्ने गरेका छन्।

पर्यटकीय करिडोरको अवधारणाको विकास

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले नजिकैका नाम्जे र थुम्कीलाई पर्यटकीय करिडोर बनाएर पुरानै अर्गानिक गाउँका रूपमा समृद्ध बनाउने उद्देश्यले त्यस क्षेत्रको विकासमा पालिका लागिरहेको जानकारी दिए। पालिकाले यहाँको घरबास सेवा प्रवर्द्धन, अर्गानिक खेती विस्तार तथा मगर जातिको कला, संस्कृति जगेर्नाको क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ।

पूर्वकै प्रमुख पर्यटकीय नगरी भेडेटारबाट पूर्व निर्माणाधीन भेडेटार–रवी–राँके राजमार्गमा रहेको मगर जातिको बाहुल्यता रहेको थुम्की गाउँ आज पनि उनीहरूको घरबास सेवा र हुर्रा नाचले प्रख्यात छ। थुम्की होमस्टेमा आउने पर्यटकहरूले सूर्योदय, बौद्धविहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा तथा वरिपरिका दृश्यहरू अवलोकन गर्ने गरेका छन्।

शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सौन्दर्यले भरिएको थुम्की केवल बस्ने ठाउँ मात्र होइन, अनुभव गर्ने गन्तव्य पनि हो। पाहुना सत्कार, स्वादिलो खाना र समृद्ध मगर संस्कृति— यी सबैले थुम्की सामुदायिक होमस्टेलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको छ।