काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्ने कानुन निर्माण भएपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताएका छन् । मंगलबार प्राधिकरणको २६औं वार्षिकोत्सवमा मन्त्री पाण्डेले मन्त्रिपरिषदबाट स्वीकृत भएको विधेयक संसदबाट कानुनका रूपमा निर्माण गरेपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताएका हुन् ।
विधेयकमाथि छलफल हुँदा प्राधिकरण कर्मचारीका कुरा समेत समावेश गरिने उनको भनाइ थियो । नयाँ कानुन निर्माण भएपछि अन्तर्राष्ट्रिय रूपमा उठ्ने गरेका प्रश्न पनि सम्बोधन हुने उनले बताए । कानुन निर्माण गर्दा कुनै कुरामा शंका नगर्न उनले आग्रह गरे । यो कानुन निर्माण भए प्राधिकरण झनै विश्वसनीय हुने उनको भनाइ छ । निजगढ विमानस्थल निर्माण नेपालको सपना भए पनि त्यो निर्माणको विषय त्यत्तिकै अल्झिरहेको उनले बताएका थिए ।