१ जेष्ठ २०८३, शुक्रबार 1778882881
Banner

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुभएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले लामिछाने जिल्ला अदालतमा हाजिर हुनुभएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा २०८१ पुस २५ गते ६५ लाख धरौटीमा रिहा हुनुभएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुग्नु भएको थियो।

लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले लामिछाने आज मात्र अदालतमा हाजिर भएका हुन् ।

स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा धरौटीमा रिहा भैसकेका छन् । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया अगाडि बढाइएको छ।