काठमाडौं । एउटा पदमा उम्मेदवारी दिएका व्यक्तिको नाम अर्कै पदमा राखेर नामावली सार्वजनिक भएपछि अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयन प्रक्रिया विवादित भएको छ । अखिल क्रान्तिकारीको महासचिव पदमा उम्मेदवारी दिएका रोशन खड्काको नाम उपाध्यक्षमा राखेर नामावली सार्वजनिक भएपछि विवाद भएको हो । निर्वाचन आयोगले धाँधली गर्न खोजेको विद्यार्थीहरुको आरोप छ ।
अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयन गर्नका लागि अनलाइनमार्फत् उम्मेदवारी दर्ता माघ ८ गतेदेखि सुरु गरिएको थियो । गएराति प्रकाशित नामावलीमा महासचिवमा उम्मेदवारी दिएका खड्काको नाम खुला उपाध्यक्षमा देखिएको छ । पदाधिकारीमा उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका एक नेताले भने, ‘कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्छ तर एउटा पदमा उम्मेदवारी दिएको व्यक्तिको नाम अर्को पदमा सार्न विधिले दिँदैन । त्यसैले यहाँ गडबडी गरिएको छ ।’