काठमाडौँ, १२ माघः भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्त गुमाएका शोकाकूल परिवारप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना छन् ।
त्यसमा कमला नवीन भण्डारी (वर्ष ४३), लछिराम पासी (वर्ष ४०) छन् । यस्तै अछामका चार जनाको निधन भएको छ । हिन्दुराम विश्वकर्मा(वर्ष ११, नन्दराम पद्य विश्वकर्मा (४४ वर्ष), मैसारा कामी विश्वकमा) (४२ वर्ष) र जोक्ला उर्फ कला कामी ( ६० वर्ष) छन् । त्यस्तै बाँकेका ३२ बर्षीय राधेश्याम राधको निधन भएको छ । दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ ।
मृत्यु भएका नेपालीको शव ल्याउन तथा घाइतेको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवम् सहजीकरण गरिरहेको जनाइएको छ । यही माघ नौ गते साँझ करिब पाँच बजेर पाँच मिनेटमा भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै रेल दुर्घटना भएको थियो ।