काठमाडौँ : अमेरिकाको वासिङ्टन डीसीमा ६४ जना बोकेको अमेरिकन एयरलाइन्सको विमान आकासमै हेलिकप्टरसँग ठोकिएको बारे आफूलाई जानकारी आएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। स्थानीय समयानुसार बुधबार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै उडिरहेको सेनाको हेलिकप्टर र विमान ठोकिएर पोटोम्याक नदीमा खसेका हुन्।
ट्रम्पले भने, ‘रेगन राष्ट्रिय विमानस्थलमा भएको भयानक दुर्घटनाको बारेमा मलाई पूर्ण जानकारी दिइएको छ।’ दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले अगाडि भने, ‘भगवान्ले उनीहरूको (मृतकको) आत्मालाई शान्ति प्रदान गरून्। उद्धार प्रयासमा सहयोग गर्नेहरूलाई धन्यवाद। म परिस्थितिमा नजर राखिरहेको छु। थप जानकारी पाउनेबित्तिकै म तपाईंलाई दिनेछु।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको विमान नदीमा टुक्राटुक्रा अवस्थामा फेला परेको र शव निकालिएको उल्लेख गरेका छन्। अहिलेसम्म एक जना पनि जीवित फेला परेका छैनन्।