काठमाडौं । निजी लगानीमा सञ्चालित भूगर्भ सिमेन्ट लिमिटेडको व्यापार १० प्रतिशत बढेको छ । गत वर्ष २०२४ मा भूगर्मले १ अर्ब ३९ करोड रुपैयाँको सिमेन्ट व्यापार गरेको छ । अघिल्लो वर्ष १ अर्ब २६ करोड ४० लाख रुपैयाँ सिमेन्ट व्यापार गरेको थियो । भूगर्भले गत वर्ष सिमेन्ट व्यापारबाट १३ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । सिमेन्ट बिक्री भएपछि उद्योगको व्यापार बढेको हो । उद्योगको आम्दानीमा सुधार भएपछि मार्जिन बढेर ३० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष मार्जिन २ प्रतिशत मात्र थियो ।
अघिल्लो वर्ष दैनिक ३ सय टन क्लिङकर उत्पादन गर्ने प्लान्ट सञ्चालन भएको थिएन । गत वर्ष पूर्ण क्षमतामा सञ्चालन भएको भूगर्भले जनाएको छ । यस्तै चुनढुंगाको क्षमता दैनिक ८ सय टनबाट बढाएर ३२ सय टन पुगेपछि मार्जिन बढ्न सहयोग गरेको उद्योगले जनाएको छ ।
यो वर्षको पहिलो ६ महिनामा उद्योगले ६० करोड रुपैयाँ सिमेन्ट व्यापार गरेको छ । उद्योगले साधारण सेयर निष्कासन गर्न पब्लिक लिमिटेडमा परिणत भएको हो । भूगर्भले १२ करोड ६२ लाख ५० हजार रुपैयाँको आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । भूगर्भले २ अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
उद्योगसँग दैनिक ३२ सय टन खानी उत्खनन् गर्ने अनुमतिपत्र (लाइसेन्स) पाएको छ । खानी लुम्बिनीको तीनपानेमा रहेको छ ।
२०२३ मा उद्योगको खानी स्किम बढाइएको हो । उद्योगको सिमेन्ट उत्पादन क्षमता बढेर दैनिक ७ सय टन पुर्याइएको छ । यसअघि दैनिक ५ सय टन सिमेन्ट उत्पादन क्षमता थियो । उद्योगले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिरहेको छ ।
उद्योगले २ अर्ब २५ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ । नेपालमा ७५ सिमेन्ट उद्योग रहेका छन् । जसमध्ये २० वटा क्लिङकर उत्पादन र बाँकी ग्रान्डिङ युनिट सञ्चालनमा रहेका छन् ।