१२ भदौ २०८३, शुक्रबार 1787981082
Banner

अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘आज वसन्त पञ्चमी, वसन्त पञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ। श्रीपञ्चमी, सरस्वती पूजा-बालबालिकाको अक्षरारम्भ गर्ने दिन। बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू बसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ।’

ओलीले थप्दै लेखेका छन्, ‘प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिन्छ। सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको छ। अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्,  प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन!’ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चनासहित वसन्त श्रवण गरेर आज मनाइँदै छ।