वासिङटन डीसी । हालैको अमेरिका भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सुनौलो रंगको पेजर उपहार दिएका छन् । नेतन्याहुको कार्यालयले बताएअनुसार सुनौलो पेजरले युद्धमा ‘टर्निङ प्वाइन्ट’को प्रतिनिधित्व गरेको छ । इजरायलले २०२४ को सेप्टेम्बरमा हेजबुल्लाहविरुद्ध घातक कारबाही गरेको थियो ।
यस क्रममा लेबनानमा शृङ्खलाबद्ध रुपमा पेजर विष्फोट गराइएको थियो । यस कारबाहीमा इजरायलले हिजबुल्लाहका सदस्यहरूले बोकेका पेजरलाई निशाना बनाएका थिए । देशभरमा पेजर विस्फोटका घटनामा दर्जनौँ मानिसको ज्यान गएको थियो भने हजारौँ घाइते भएका थिए । उक्त अभियान हिजबुल्लाहका सदस्यहरूलाई मात्रै लक्षित गरेर चलाइएको इजरायलको भनाइ थियो । तर विस्फोटका पीडितमा सर्वसाधारण पनि परेको लेबनानी अधिकारीहरूले बताएका थिए ।


