२१ जेष्ठ २०८३, बिहिबार 1780609853
Banner

प्रचण्डलाई गोरखा-२ छाड्नुनै गम्भीर गल्ती भयो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवार हुन दिनु नै गम्भीर गल्ती भएको निष्कर्ष निकालेका छन् ।

आइतबारदेखि काठमाडौंमा जारी प्रथम महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा अध्यक्ष भट्टराईले २०७९ मंसिरको प्रतिनिधि सभा चुनावबारे केही प्रसंग उल्लेख गर्दै आफू चुनाव नलडी गोरखा–२ मा प्रचण्डलाई ठाउँ दिनु नै गम्भीर गल्ती भएको बताएका हुन् ।

‘२०७९ असारमा ‘नेपाल समाजवादी पार्टी’ को रूपमा पुनर्गठित गरिसकेपछि २०७९ मंसिरमा भएको आम निर्वाचनमा माओवादी केन्द्रसँग साझा चुनाव चिह्न लिनु र निर्वाचन क्षेत्र गोरखा–२ प्रचण्डलाई छोड्नु गम्भीर गल्ती थियो,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘एमालेबाट अलग्गिएपछि अप्ठ्यारोमा परेको माओवादी केन्द्र र भर्खर नेसपाको रुपमा पुनर्गठित भएको बेला अलमलमा परेका हामी बीचको हतारो निर्णयको दुष्परिणाम थियो त्यो चुनावी तालमेल ।’

प्रचण्डलाई गोरखा २ छाड्नु आफुहरुको गल्ती भएको समेत उनले उल्लेख गरेका छन् । ‘प्रचण्डलाई गोरखा–२ छोड्नु हाम्रो नेतृत्वको सदासयतापूर्ण उदारवादी कमजोरी थियो । पछि बेइमानीपूर्ण र मूल्यहीन सत्तादेखि सत्तासम्मको राजनीति गर्नेहरूले भ्रम फैलाएझैं त्यहाँ अरू कुनै अपारदर्शी समझदारी वा लेनदेन केही थिएन,’ भट्टराईको दाबी छ, ‘वैचारिक–राजनीतिक ढंगले माओवादी आन्दोलनको अध्याय नेपालमा पूरा भइसक्यो, अब नयाँ युगको यात्रा नयाँ ढंगले गर्नुपर्छ भनेर स्वेच्छिक र खुला रुपमा नयाँ वैकल्पिक राजनीतिक अभियानमा हिँडिसकेका हामीले आफ्नो ऐतिहासिक दायित्व बिर्सेर फेरि पछि फर्कने कुरा असम्भव र कल्पना बाहिरको कुरा हो।’