१४ असार २०८३, आइतबार 1782634681
अर्थ

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नेपालगञ्ज, २८ माघः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८, मङ्सिरमा ३७, पुसमा ४० र माघको २७ गतेसम्ममा ३१ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित कार्यक्रममा सम्पर्क कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले उजुरी फर्छ्यौटमा साउनदेखि हालसम्म ६२ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिनुभयो । गत वर्ष सो कार्यालयले कूल उजुरीको ८३ दशमल ८३ प्रतिशत फर्छ्यौट गरेको थियो । सो कार्यालयको कार्य क्षेत्र लुम्बिनीका बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला हुन् । सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले भ्रष्टाचारलाई सामाजिक रोगको संज्ञा दिँदै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री अग्रवालले इन्जिनियर नवीन पाण्डे र प्रहरी हवल्दार गुलाबचन्द्र मौर्यलाई पुरस्कृत गर्नुभएको थियो । स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।