३ आश्विन २०८१, बिहिबार 1726810444
Banner

निर्वाचनपछि भूमिहीन सुकुमबासीका समस्या समाधान गर्ने छौं : केपी शर्मा ओली

इलाम – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भूमिहीन सुकुमबासीका समस्या आउँदो आमनिर्वाचनपछि समाधान गरिने बताउनुभएको छ । भूमिहीनलाई लालपूर्जा वितरण गर्ने अवस्थामा आफू नेतृत्वको सरकार ढालिएको पनि उहाँले बताउनुभयो ।

इलामको माई नगरपालिकास्थित दानाबारीमा आज (बुधबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भूमिहीन सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने बेला परमादेशबाट सरकार बनाउने एमाले हटाउने षड्यन्त्र गरिएको बताउनुभयो । ‘अबको आमनिर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ, त्यो सरकारले मात्रै भूमिहीन सुकुमबासीको समस्या समाधान गर्न सक्छ,’ उहाँले भन्नुभयो, ‘जब एमालेले भूमिहीन सुकुमबासीका समस्या समाधान गर्ने प्रयास गर्छ, विपक्षीले त्यसलाई नपचाएर सरकार ढालिहाल्छन् ।’

उहाँले २०५१ सालमा पनि एमाले नेतृत्वको सरकारले ६५ हजारभन्दा बढी भूमिहीन सुकुमबासीलाई जग्गा वितरण गरेपछि सरकार ढालिएको बताउनुभयो ।

‘मेरो नेतृत्वको सरकारले अस्ति आयोगबाट लालपूर्जा वितरण गर्नैलागेको थियो,’ उहाँले भन्नुभयो ‘त्यहीबेला गठबन्धन नामको षड्यन्त्र निस्कियो । परमादेशबाट सरकार बनाइयो, मैले नलडेको मुद्दामा मलाई हराइयो र गठबन्धनलाई जिताइयो ।’ तर, अदालतको सम्मान गर्ने भएकाले अदालतको निर्णय आफूहरूले मानेको उनको भनाइ थियो ।

ओलीले आफू नेतृत्वको सरकारलाई षड्यन्त्रपूर्वक ढालिएको भन्दै ‘जनता’सँग न्याय माग्न हिँडेको बताउनुभयो । सार्वभौम अधिकार नागरिकमा रहेको र नागरिक नै न्यायाधीश भएकाले एमालेले चुनाव चाहेको पनि उहाँको भनाइ थियो ।

‘हाम्रो नेतृत्वको सरकारलाई भयावह षड्यन्त्रको चक्रविह्वमा फसाइएको हो । मैले नलडेको मुद्दामा मलाई हराइयो र गठबन्धनलाई जिताएर परमादेशी सरकार बनाइयो, त्यसैले अहिले हामी न्यायाधीश ९मतदाता०सँग न्याय माग्न आएका छौं ।’

बुधबार नै अध्यक्ष ओलीले किरात धर्म धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट गर्नुभयो । त्यसका लागि किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल माङ्सेबुङस्थित लारुम्बा पुग्नुभएका उहाँले त्यस ठाउँको विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । यस क्षेत्रको विकासका लागि आफ्नो पार्टी एमाले सधैं चिन्तनशील रहेको पनि उहाँले बताउनुभयो ।

‘किरात धर्मगुरुले जुन पवित्र मनले काम गरिरहनुभएको छ, हाम्रो पार्टीको पनि उद्देश्य समाजलाई हिंसारहित, शान्त र विकसित बनाउने नै हो,’ ओलीले भन्नुभयो, ‘गुरुको आशीर्वाद हाम्रा उम्मेदवारले पाउने छन्, त्यसपछि यो क्षेत्रको विकासमा अझ अघि बढ्ने अवसर हामीलाई हुनेछ ।’

ओलीले यसअघि पनि एमाले नेतृत्वको सरकार भएका बेला यस धार्मिकस्थलका लागि पूर्वाधारका काम भएको स्मरण गराउनुभयो । ‘दमकबाट लारुम्बा हुँदै जाने सडकको स्तरोन्नतिको काम गर्दैगर्दा अहिले माई नगरको दानाबारीबाट फेरि यहाँ आइपुग्ने सडकको काम हुँदैछ,’ उहँले भन्नुभयो, ‘यस क्षेत्रको विकास सन्दर्भमा यही क्षेत्रका प्रतिनिधि सुवासचन्द्र नेम्बाङले पनि मलाई धेरै कुरा भन्नुभएको छ, भन्नुहुनेछ । हामी यहाँका आवश्यकता, समस्या निराकरणमा सदैव प्रयत्नशील छौं ।’

ओलीले यो धार्मिकस्थलले मानवजातिको कल्याण, शान्तिको चाहना, न्यायपूर्ण समाज र मानिसलाई दुःखबाट छुटकाराका लागि सकारात्मक काम गरिरहेको भन्दै एमालेको चाहना पनि त्यही भएको बताउनुभयो । ‘एमालेले पनि मानिसलाई दुस्ख, अभावबाट मुक्ति दिन चाहेको हो, शान्ति र विकासको मामलामा एक स्टेप अघि बढ्न चाहेको हो,’ उहाँले भन्नुभयो, ‘यी कामका लागि हामीलाई पनि गुरुबाट पक्कै आशीर्वचन प्राप्त हुनेछ ।’

ओलीले आफूहरू सबै मिलेर यो क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । ‘म अहिले चुनावका बेला आएकाले कुनै राजनीतिक स्वार्थले आयो कि भन्ने लाग्छ सक्छ, त्यस्तो बुझ्न हुँदैन,’ उहाँले भन्नुभयो, ‘म गुरुको जन्मोत्सव र अरूबेला पनि यहाँ आउँछु, हामी आउँछौं, म गुरुको दर्शन गर्न आएको हुँ ।’

त्यसअघि ओलीलाई धर्मगुरुको सचिवालयले स्वागत गरेको थियो । ओलीसँग पार्टी उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङलगायतका एमाले नेता–कार्यकर्ता सहभागी हुनुभयो ।