१६ असार २०८३, मंगलबार 1782829211
Banner

नेपाली कांग्रेसले मेराविरुद्ध कुप्रचार गर्‍यो : सूर्य थापा

काठमाडौं : नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेस प्युठानले आफूविरुद्ध कुप्रचार गरेको आरोप लगाएका छन्। उनले पार्टीको जिल्ला नेतृत्वमा भएका केही व्यक्तिहरूले आफ्नाविरुद्ध कुप्रचार गरिरहेको दाबी गरेका हुन्। सामाजिक सञ्जालमा एक भिडियो साझा गर्दै थापाले आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘भिडियोमा बोल्ने महिला कांग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर क्याटवाकका क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ। भिडियोमा प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा कांग्रेसको टिमको नेतृत्व गरिरहेका छन्, फूल लिएर हात जोडेको देखिन्छ। त्यस्तै, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा कांग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ।’

थापाले भनेका छन्, ‘ल मानौँ, एकजना महिला बोल्नुभयो भनेर सामान्य रूपमा नै लिऊँ, यसलाई कांग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर मेराविरुद्ध भाइरल गरिएको छ।’ भिडियोमा एक महिला लुम्बिनी प्रदेश सरकारका खानेपानी मन्त्री सरोज थापासँग प्युठानबाट प्रतिनिधिसभामा सांसद समेत रहेका थापाले मच्छी सडक अलपत्र पारेको आरोप लगाएकी छन्।