२८ भदौ २०८३, आइतबार 1789351398
Banner

२०८४ को निर्वाचन एक्लै लड्ने माओवादीको घोषणा

दोलखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दहालले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले कसैसँग गठबन्धन नगर्ने घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीको तेस्रो नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष दहालले नेकपा माओवादी केन्द्र काँग्रेस– एमाले फकाउन तिर लाग्दा कम्जोर भएको उल्लेख गर्दै  २०८४ को निर्वाचनमा एक्लै उठेर जित हासिल गर्ने बताएका हुन्। हुन त हामी काँग्रेस– एमाले खोज्दै गएका हैनौ उनीहरुनै हामीसंग आएका हुन् अध्यक्ष दहालले भने– तर हामी उनीहरुलाई फकाउन तिर लाग्दा कम्जोर भयौ ।

अहिले काँग्रेस– एमालेको भण्डाफोर गर्दै जनताको बीचमा जान लागेपछि नेकपा माओवादी केन्द्र उकालो लागेको अध्यक्ष दहालको भनाई छ ।अध्यक्ष दहालले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, भ्रष्टाचारको अन्त्य र आर्थिक विकासको मुद्दालाई प्राथमिकता दिएर अघि बढेको र त्यसैबाट अतालिएकाहरुले आफ्नो सरकार ढालेको बताए ।

धेरैलाई लागेको छ काँग्रेस– एमालेको धेरै सिट छ, माओवादीको थोरै छ, त्यसैले दुुई पार्टी मिलेपछि माओवादी नेतृत्वको सरकार ढलेको हो अध्यक्ष दहालले भने – तर त्यसो हैन भ्रष्ट, तस्कर, विचौलियाहरुको उक्साहटमा काँग्रेस– एमाले मिलेर आफ्नो सरकार ढालेका हुन् । माओवादी केन्द्रका अध्यक्ष दहालले काँग्रेस– एमालेको चाहना संविधान संशोधन गर्ने नभएको बताए । उनीहरु संविधान संशोधन गर्न नभै संविधान च्यात्न चाहन्छन् अध्यक्ष दहालले भने– खाली मेरो नेतृत्वको सरकार फाल्ने बहाना केही नभएपछि संविधान संशोधनको प्रस्ताव ल्याएका हुन् ।

नेकपा माओवादी केन्द्रले संविधान संशोधन मार्फत जनतालाई थप अधिकार सम्पन्न बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुपातिक निर्वाचन प्रणाली लगायतका विषय राख्न चाहेको अध्यक्ष दहालको भनाई छ ।

नगर अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् सङ्घीय सांसद गंगा कार्की, केन्द्रीय सदस्य एवम् दोलखा इन्चार्ज विशाल खड्का, केन्द्रीय सदस्य नवीन जिरेल, वैकल्पिक केन्द्रीय सदस्य नर बहादुर पाख्रिन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।