४ आश्विन २०८१, शुक्रबार 1726845775
राजनीति

भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नागले देउवासँग भेट्न रुचाएनन्, रामचन्द्रसँग भने ‘ब्रेकफाष्ट मिटिङ’

चितवन – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगे पनि जगन्नाथ पौडेलले भेट्न मानेनन् । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल सँग बरिष्ठ नेता रामचन्द्र पौडेलले भने ब्रेकफाष्ट नै गरे ।

बिहीबार विहान भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उनी पक्षका नेताहरूबीच छोटो कुराकानी भएको थियो । तर, देउवा सत्तागठबन्धनले गर्ने चुनावी सभाका लागि भन्दै बुधबार नै चितवन पुगेका थिए । तर, पौडेलले भेट्न रुचाएनन् ।

जगन्नाथले मेयरमा उम्मेदवारी दिँदा प्रस्तावक रहेका कृष्णलाल सापकोटा र समर्थक रहेकी मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतसँग रामचन्द्रले होटलकै कोठामा बेक्रफाष्ट लिँदै कुरा गरे ।

कांग्रेसका पुराना नेता जगन्नाथ यसपालि भरतपुर माओवादीलाई छाड्ने पक्षमा छैनन् । उनी स्वतन्त्र ढंगले उम्मदेवारी दर्ता गरेर चुनाव चिन्ह भुइँकटहर लिएर प्रचारमा जुटिसकेका छन् ।

महानगरभित्र कांग्रेसको धेरै भोट रहेकोले थोरै भोट भएको माओवादीलाई मेयर नछाड्ने दाबी पनि जगन्नाथ गर्छन् । उनले कांग्रेस बचाउन आफ्नो उम्मेदवारी रहेको भन्ने गरेका छन् ।

‘रामचन्द्र दाइले भेट्न बोलाउनु भएको थियो । प्रस्तावक र समर्थकसहित गएर भेटेर आएँ । हाम्रो बटमलाइन उहाँलाई सुनाए – हामी कुनै पनि हालतमा मेयर उम्मेवारी छोड्दैनौं,’ भेटवार्ताबारे जगन्नाथले भने ।