विराटनगर । मोरङको बेलबारीमा रहेको बेतना सिमसार धेरै पर्यटकको रोजाईमा पर्न थालेको छ । पछिल्लो समय सिमसार अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दो छ ।
राजमार्गको छेवैमा जोडिएको बेतना सिमसारमा धरान, सुनसरी, झापा साथै मोरङका विभिन्न स्थानबाट पर्यटकहरु आउने गरेका छन् । बेतनामा रहेको पोखरीमा डुंगा चढ्ने साथै सिमसार क्षेत्रमा लोपोन्मुख पानी हाँस, जल कौवा, सरस, चीललगायतका जीवजन्तुले पर्यटकको ध्यान खिच्ने गरेको छ ।

छुट्टै पिकनिक स्पोट र मनोरम दृष्यहरुको आकर्षणले गर्दा बिशेष अवसर, चाडबाड र बिदाका दिनहरुमा पिकनिक खान आउनेहरुको घुइंचो हुने गरेको छ । बेतनामा दैनिक १ हजार ५ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जाडो समयमा कुनै दिन ६१ वटा पिकनिक समूह आएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईले जानकारी दिए ।
‘शनिबार धेरै पिकनिक आउनुहुन्छ । पुस महिनामा ६१ वटा समूह एक दिन आएको थियो । अन्य शनिबार पनि ४२र४३ वटा समूह भएका थिए’, उनले भने, ‘माघ लागेपछि पनि ३० वटासम्म समूह आएका छन् । दैनिक घुम्न आउनेको संख्या पनि बढी रहेको छ ।
समितिले पिकनिकको लागि आउनेहरुसँग पिकनिक स्पर्टको १ हजार र प्रतिव्यक्ति २५ रुपैया शुल्क लिने गरेको छ भने घुम्न आउने पर्यटकसँग प्रतिव्यक्ति ५० रुपैया प्रवेश शुल्क लिने गरेको छ ।
मोरङ बेलबारी बजारबाट २ किलोमिटर पूर्वमा अबस्थित बेतना सिमसार पूर्वी नेपालका मात्र नभई नेपालभरका र बिदेशी पर्यटकहरुको समेत आकर्षणको केन्द्र बनेको छ । कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना सिमसार क्षेत्र पर्यटकको आकर्षक गन्तब्य मात्र होइन, बन्यजन्तु र साना ठुला जीव अनि जंगली जनावरहरुको बासस्थानको केन्द्र समेत हो ।
बेतना सिमसारमा हाल सेक्युरिटी गार्ड सहित १५ जना कर्मचारी छन् । तारबेराले घेरिएको सिमसारमा चौबिसै घण्टा सेक्युरिटी बस्छन् । दुइवटा ताल रहेको पुर्व पश्चिम राजमार्ग किनारमै अबस्थित सिमसारको पूर्वपट्टीको तालमा बोटिङ संचालन हुँदै आएको छ । पश्चिमपट्टीको ताल पनि सुन्दर बनाईएको छ । माछाहरु तालमा देख्न सकिन्छ ।
जीवजन्तु र जनावरहरुको आश्रयस्थल
सिमसार क्षेत्रमा अजिंगर, चित्तल, निलगाई, बाँदर, ढेडु, हुचिल, लाटकोसेरो, बन बिरालो, पानी ओत र खरायो खोरमा राखेर संरक्षण गरिएका छन् । सिमसार क्षेत्रको तालमा जताततै साना – ठुला माछा नै माछा देखिएपनि कति माछा छन् भन्ने यकिन छैन ।
नेपालमा पाइने १२ प्रजाति मध्ये मयुरपंखी, सुनकछुवा र ढकनी कछुवा सहित ३ प्रजाति रहेको पुष्ठी भएपनि कछुवा बिज्ञहरुका अनुसार बेतना सिमसारमा ६ प्रजातिका कछुवा रहेको बताएका छन् । सिमसार क्षेत्रमा बिभिन्न प्रजातिका ३ सय भन्दा बढी कछुवा रहेको अनुमान गरिएको छ ।
सिमसारमा अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ कछुवा दुई दर्जनभन्दा बढीको संख्यामा रहेको अध्ययन टोलीले पत्ता लगाएको थियो । सन् २०२२ मा आरको नेपालको सहयोगमा अस्ट्रियाका वैज्ञानिक डा। पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्टसेल ९कालो नरम खपटे० प्रजातिको कछुवा फेला पारेको हो ।
जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निग्रिकन्स’ रहेको छ । अनुसन्धान टोलीका एक सदस्य तपिलप्रकाश राईका अनुसार यो कछुवा ‘आइयूसीएन’ मा अति सङ्कटापन्न प्रजातिका रूपमा सूचीकृत छ ।
रैथाने र बिकाशे माछाहरुले नै सिमसार पोखरी ढाकिएको देखिन्छ । रैथाने जातका माछाहरु मार्न नपाइने भएपनि बिकाशे जातका माछा प्रसस्त छन् ।
बेतना सिमसारको अर्को आकर्षण हो ८ फुट उचाई र ६ फुट लम्बाई भएको कमिलाको मुर्ति करिब डेढ लाख लागतमा श्रम र एकताको प्रतीकको रुपमा केहि बर्ष अघि बनाइएको कमिला सिमसार क्षेत्रको केन्द्रमा रहेको छ, जसले सिमसारको आकर्षण मात्र थपेको छैन, पर्यटक समेत आकर्षित गर्ने गरेको छ ।
पशुपंक्षी र वनस्पतिको बासस्थान केन्द्र
बेतना सिमसारमा कछुवा, सिपी, घुंगी, गंगटा, भ्यागुता, सर्प, बुदुना, पैया, हिले, मुंग्री, सिङगी,बुहाली, असला, सिद्रा, टिलटिले, कालीमाछा, गराही, टेङग्रा, अन्धबाम, कैइचीबाम, राजाबाम, चुच्चेबाम र कवाई लगायतका जलचर छन् ।
त्यस्तै चरा प्रजातिका सारस, चिल, जलकौवा, काग, बकुल्ला, लुइचे, सिमकुखुरा, चिवे, हाँडीफोर, बाज, जुरेली, हुट्टीट्याउं, रुपी, ढुकुर, गौंथली, मयुर, कोइली, उल्लु,सुगा, भंगेरा,पानीहाँस, जलेवा लगायतका चरा चुरुंगी समेत बेतना सिमसार क्षेत्रमा छन् ।
त्यस्तै बँदेल, दुम्सी, सालक, अजिंगर, बाँदर, खरायो, ढेंडु, बन बिरालो, माछा खाने बिरालो, स्याल, चमेरा, हरिण, मृग, चित्तल, सुनगोहोरो र हात्ती आदि जंगली जनावरहरु पनि यस सिमसार क्षेत्रमा छन् । त्यसबाहेक पर्यटकले छोडेका आधा दर्जन हाँस पनि सिमसार क्षेत्रमा छन् ।
बनस्पति प्रजातिका बेत, बेल, रुद्राक्ष, अंगेरी , धतुरो, बनआँप, हर्रो, बर्रो, असारे, भर्लासाल, सिमल , भलायो, खयर, हलुड़े, टाँकी, सत्तीसाल, टुनी, काभ्रो, औलिया, पिपरी, आंक, ओदाल, दत्रुंग, टाँटरी, कुम्भी, क्यामुना, कुसुम, छतिवन, डुमरी, गलेनी, स्वामी, कमल, मरङगे, पटेर, जिब्रिसाग, वनकेरा र अर्चल आदि बनस्पति समेत बेतना सिमसार पर्यटकीय क्षेत्रमा छन् ।
सिमसारको शुरुवातरअवधारणा
स्थानीय कृषकहरुलाई सहज रुपमा सिंचाइको लागि पानी उपलब्ध गराउने एकमात्र उद्देश्यले विसं २०५७ सालमा एक करोडभन्दा बढीको लागतमा बेतना खोला सिंचाई जल उपभोक्ता समितिले ड्याम निर्माण गरी पोखरी बनाएपछि सिमसारको अबधारणा बनेको थियो । त्यसबेला सिंचाई विभागबाट प्राप्त ९७ लाख र स्थानीय उपभोक्ताबाट उठेको १४ लाख ५९ हजार रकम लगानी गरी ड्याम निर्माण गरिएको थियो ।
बाँध बनाइएपछि पोखरीमा परिणत भएको दह आकर्षक देखिन थाल्यो र स्थानीय बासिन्दा पनि उत्साहित भए । राजमार्ग किनारमै भएकोले हेर्न र घुम्न आउनेहरु पनि बढ्दै गए ।
त्यहिबेला खासगरी एपेकको सक्रियतामा २०६० सालतिर त्यो दहलाई सिमसार बनाउने अबधारणा बन्यो र बेतना सिमसार नामाकरण गरियो । २०६१ सालमा नै बिष्णु बहादुर बस्नेतको अध्यक्षतामा बेतना सिमसार संरक्षण समिति बनाइएपछि सिमसारले संस्थागत रुप लिन थाल्यो ।
२०६१ सालमा नै एपेक मार्फत युएनडिपीले सिमसारको निर्माण र बिकाशका लागि १९ लाख रुपयाँ लगानी गर्यो । त्यसपछि सरकार र दात्री निकायको सहयोग बढ्दै गयो र एउटा आकर्षक पर्यटकीय थलो बन्यो । २०६७ सालमा जिल्ला बन कार्यालयको स्वीकृतिमा इलाका प्रशासन कार्यालय मोरङमा बेतना सिमसार संरक्षण समिति एक संस्थाको रुपमा दर्ता भयो ।
तर २०७२ मा बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुह दर्ता भइ विधिवत रुपमा २०७२ असार ३१ गते हस्तान्तरण भएपछि बेतना सिमसार सोहि सामुदायिक बनको स्वामित्वमा छ ।
पुरातात्विक महत्वको सिमसार
बेत बाँस प्रसस्त रहेकोले त्यसको नामकै आधारमा बेतना नामाकरण गरिएको यो सम्पदा प्राकृतिक दृष्टिले मात्र होइन, पुरातात्विक दृष्टिले समेत अहम महत्वको छ । पुरातत्व विभागले २०७२ मा बेतना सिमसार क्षेत्रमा स्थलगत अन्वेषण तथा उत्खनन् गर्दा यहाँ भेटिएका माटाका भाँडा, ढुंगा र सिलौटा आदिको अध्ययनका आधारमा २५ सय बर्ष पहिले बेतनामा मानब बस्ती रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको थियो ।
विभागले सिमसारको दुइ सय मिटर आसपासका तीन ठाउँमा उत्खनन् गरेको थियो । फेला परेका ती भाँडावर्तनका अवशेष नव पाषाणकालीन भएको पुरातत्व विभागले जनाएको थियो ।
कोशी प्रदेशको नमुना सिमसार बनाउने योजना
बीचमा आर्थिक हिनामिनाको कारण विवादमा रहेको बेतना सिमसार अहिले लयमा पर्कदै छ । विधान प्रक्रिया विपरित काम भएको भन्दै लामो समय सिमसारको गेटमा ताबन्दी पनि भएको थियो । विगत ६ महिनादेखि शम्भु भट्टराईको नेतृत्वको कार्यसमितिले काम गरिरहेको छ ।
अहिले १ करोड ८५ लाखको कछुवा संरक्षणको कामको टेन्डर आह्वान भएको अध्यक्ष भट्टराईले जानकारी दिए । बेलबारी नगरपालिका र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा उक्त काम भएको उनले बताए ।
सिमसार संरक्षणका लागि योजना बनाएर आफूहरुले काम अगाडि बढाएको उनको भनाई छ । ‘कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्ष २०८२ लाई लक्षित गरेर काम भईरहेको छ’, उनले भने, ‘सरकारले घुम्नैपर्ने पर्यटनको क्षेत्रको रुपमा बेतना सिमसारलाई पनि राखेको हुनाले हामीले त्यही अनुसार काम पनि गरिरहेका छौं ।’