काठमाडौं : भंगाहा नगरपालिका–८ धरमपुरनिवासी ध्रुव राउतको छोरा अवधेश राउतको विवाहका लागि भाडामा ल्याएको ज१ज ६६ नम्बरको रथ पल्टिएर किच्दा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छन्। आइतबार साँझ रथ आफैँ पल्टेर सोही स्थानका पैदलयात्री १६ वर्षीय सुभाष पन्जियार घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रममा राति मृत्यु भएको हो।
रथले च्यापिएर घाइते भएका २५ वर्षीय प्रवीण राउतको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले बताए। दुर्घटनालगत्तै रथका चालक फरार भएको प्रहरीले जनाएको छ। प्रवक्ता चौहानका अनुसार पन्जियारको शव सोमबार साँझ आफन्तले बुझेर लगेका छन्। फरार रथका चालकको परिचय प्रहरीले खुलाएको छैन।