काठमाडौँ । धार्मिक, पर्यापर्यटन र खेलकुदको दृष्टिकोणले अत्यन्त सम्भावना रहेको कागेश्वरी मनोहरा नगरपालिकामा आगामी फागुन ७ गते पर्यटन महोत्सव आयोजना हुने भएको छ। महोत्सवको तयारी पूरा भइसकेको वडा १ का वडाध्यक्ष मकुन्द गजुरेलले जानकारी दिनुभएको छ।

नगरपालिकाका सबै वडा अध्यक्षहरूको समन्वयमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सवको तयारी गरिँदै आएको छ। महोत्सवले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको प्रचार-प्रसार गर्ने उद्देश्य लिएको छ। साथै, स्थानीय खेलकुद गतिविधिहरूलाई प्रवर्द्धन गर्दै युवाहरूमाझ खेलकुद प्रतिको रुचि बढाउने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ।
महोत्सवमा स्थानीय सांस्कृतिक झाँकी, विभिन्न प्रतियोगिता, खेलकुद गतिविधि तथा हस्तकला प्रदर्शनीहरू समावेश गरिनेछ। नगरपालिकाका बासिन्दा, व्यवसायी तथा पर्यटकहरूका लागि विशेष आकर्षणको रूपमा विविध कार्यक्रमहरू आयोजना गरिने योजना रहेको छ।
यस महोत्सवले कागेश्वरी मनोहरा क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई उजागर गर्ने विश्वास गरिएको छ। स्थानीय तथा राष्ट्रिय स्तरका पर्यटकहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।