रामेछाप : जिल्लामा व्यावसायिक माहुरीपालन गर्नेको सङ्ख्या बएको छ। कम लगानीमा बढी आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन्। सुख्खा ठाउँमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ।
मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन्। विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुईरतीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन्।
लामो समयसम्म रोजगारीको सिलसिलामा शहर बसेर फर्किएका रामेछाप नगरपालिका-७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाउँमै केही गर्ने अठोटका साथ माहुरीपालन गरेका छन्।

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू सन्तुष्ट रहेको उनको भनाइ छ। अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ। एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ। एक वर्षमा चार पटकसम्म मह काढ्ने गरेको तामाङले बताए।
मन्थली नगरपालिका- १ का चन्द्रबहादुर मानन्धरले दुईरतीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाएका छन्। उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसकेका छन्। शुरुमा माहुरीपालनसम्बन्धि कुनै ज्ञान नभए पनि छोटो अवधिको तालिम लिएर शुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उनले बताए।
उनले भने, ‘विषेशगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ। माहुरीको चरन क्षेत्र भनेको फूलबारी र तोरीबारी हो।’
माहुरीपालन गर्ने कृषकले मह मात्र नभई माहुरी सहितको घारसमेत बिक्री गर्ने गरेका छन्। सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन्।
मन्थलीमा सदावहार बहुउद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन शुरु गरेको छ। छोटो तालिम पश्चात् शुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार ५०० सयसम्म गाउँघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताए।
उनले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा एक सयदेखि १५० किलोसम्म मह उत्पादन गर्दै आएका छन्। खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि व्यावसायिक माहुरीपालन गरेका छन्।
रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाउँमा माहुरीपालन गरेका छन् । खनियापानीमा मात्र ५०० घार माहुरीपालन गरिएको छ।
महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ। उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी विनिषा श्रेष्ठले बताइन्।


