पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीय केन्द्र लेकसाइडमा आयोजना हुन लागेको कोटिहोम रोक्न उच्च अदालत पोखरामा निवेदन दिएको छ। यही फागुन १ गते उच्चले दिएको अन्तरिम आदेश बेरीतको भएको दावी गर्दै महानगरले आज भ्याकेट निवेदन दर्ता गराएको हो। महायज्ञको आयोजक नेपाल सेवा फाउण्डेशन नेपालले गर्न लागेको कोटिहोम महायज्ञ नरोक्न उच्चले दिएको आदेश रद्द गर्न महानगर प्रमुख धनराज आचार्यको वारेसको रुपमा सोमनाथ लम्सालले उत्प्रेषण परमादेशसमेत माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।

निवेदनमा महायज्ञ गर्ने भनिएको स्थल फेवातालको ६५ मिटरको मापदण्डमा समेत पर्ने र केही दिनभित्रै तालको सीमाङ्कन गरिने भएकाले पनि तालको मापदण्डभित्र पर्ने जग्गामा महायज्ञ सम्भव नहुने जिकिर निवेदनमा गरिएको छ। उच्च अदालत नियमावलीको ४२ बमोजिम निवेदन दर्ता भएको उच्चका सूचना अधिकारी नीलप्रसाद पनेरुले बताए। नियमावलीको ४२ ९ग०मा कुनै विषयमा एकपक्षीय सुनुवाइ गरी अन्तरिम आदेश जारी भएकामा वा कुनै कारणले अर्को पक्षले आफ्नो कुरा प्रस्तुत गर्न मौका नपाएकोमा उसले निवेदन दिनसक्ने व्यवस्था छ।
उक्त निवेदन भोलि ९मंगलवार० इजलासमा पेश हुने पनेरुले बताए। अदालतलाई आवश्यक लागेमा त्यसरी भएको अन्तरिम आदेश रद्द गर्न वा आवश्यक संशोधन गर्न सक्ने उल्लेख नियमावलीमा छ। मानव सेवा फाउन्डेसनले लेकसाइडमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ गर्न लागेको छ। यसअघि फाउन्डेसनले पोखराका चौतारीहरु तथा सार्वजनिक स्थलमा रहेका रुख र बोटबिरुवा जथाभावी काटेर विनास गरेकोमा महानगरले ती सबै काठ जफत गरेको थियो। महानगरले ३० ट्रकभन्दा बढी काठ जफत गरेको थियो। नेपाल ट्रष्टसँग फाउन्डेसनले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटिहोमका लागि बाराहीघाट छेउको जग्गा ११ लाख ५९ हजार रुपैयाँमा भाडामा लिएको छ।


