४ आश्विन २०८१, शुक्रबार 1726811813
Banner

कांग्रेस-माओवादीको अधुरो गठबन्धन : एउटा पालिकामा जयजयकार, अर्कोमा सत्तोसराप

काठमाडौं- स्थानीय तहको चुनावमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भयो भनिए पनि झण्डै आधा जसो स्थानीय तहमा उनीहरु आपसमा भिड्दैछन् । निर्वाचन आयोगको उम्मेदवारको विवरण हेर्दा ७ सय ५३ स्थानीय तह मध्ये ३ सय १९ वटा पालिकामा गठबन्धन भएको छैन ।

देशैभरीका वडासम्म नै गठबन्धन गर्ने उद्घोष गरेका कांग्रेस माओवादीले खास ठाउँमा मात्र एक अर्काको साथ खोजेका छन् । भरतपुर, काठमाडौं जस्ता महानगरपालिकामा एक अर्काको साथ खोजेर एमाले हराउने रणनीति मात्र होइन नेताका आफन्तलाई जिताउनका लागि पनि गठबन्धन गरिएको कांग्रेस नेता कार्यकर्ता बताउँछन् । भरतपुरमा प्रचण्ड पुत्री रेनु दाहाल र काठमाडौमा प्रकाशमान सिंह पत्नी सृजनालाई अघि सारेर गठबन्धन गरिएको छ ।

‘एउटा पालिकामा गएर काग्रेसको बखान गर्ने उही माओवादी नेता अर्को पालिकामा गएर सत्तोसराप गर्ने उही माओवादी नेता’ कांग्रेसका एक नेता भन्छन् ‘गठबन्धन भएका ठाउँमा माओवादीको जयजयकार गर्नुपर्ने, प्रतिस्पर्धा भएका ठाउँमा ललकारेर गाली गर्नु पर्ने बाध्यताले हामीलाई लज्जित बनाएको छ ।’

गठबन्धन अप्ठ्यारो कांग्रेसलाई मात्र होइन माओवादी नेतालाई पनि छ । एउटै जिल्लाको एउटा पालिकामा गठबन्धन अर्को पालिकामा प्रतिष्पर्धा भएपछि चुनावको जिल्ला कमाण्ड गर्ने नेताले नै दोहोरोे चरित्र देखाउनु पर्ने भएको छ । ‘गठबन्धन भनेको निश्चित पदमा मात्र होइन ,देशैभरी,जिल्लैभरी र वडातहसम्म नै भयो भने मात्र प्रचारप्रसारमा सहज हुने रहेछ,’ माओवादीका एक नेता भन्छन्, ‘नत्र नेताले गरेको भाषण जनताले नपत्याउने रहेछन् । त्यसले गर्दा गठबन्धन पनि बलियो नहुने रहेछ ।’

कांग्रेससँग गठबन्धन गरिरहँदा माओवादीहरु गत प्रदेश र संघीय निर्वाचनमा एमालेसँग गरिएको गठबन्धनलाई सम्झिरहेका छन् । त्यतीेबेला देशैभरी गठबन्धन भएको थियो । एकले अर्कालाई गाली हैन प्रशंसा मात्र गरे पुग्थ्यो । त्यती मात्र होइन त्यो गठबन्धनलाई पार्टी एकता उन्मुख भनेर नेताहरुले कार्यकर्तालाई थप उत्साहित पारेका थिए । दुवै कम्यूनिष्ट पार्टी भएकोले मतदाताकहाँ जाँदा पनि सहज महसुष गरिएको थियो ।

अहिले माओवादीले काँग्रेसलाई मात्र साथ दिएर धर पाएको छैन । राजतन्त्रको कट्टर पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि बोक्नु परेको छ । त्यही राजतन्त्र फाल्नका लागि १७ हजार जनताको हत्याको दाग बोकेको माओवादी फेरि उही सक्रिय राजतन्त्रको पक्षधर पार्टीको पक्षमा लागेपछि माओवादीका तल्लो तहका कार्यकर्ता पनि अलमलमा परेका छन् । ‘लङ टर्म गठबन्धन एमालेसँगै हुने हो अहिले बाध्यात्मक परिस्थिती आइलाग्यो,’ दमकमा सक्रिय राजतन्त्रका पक्षपाति राम थापालाई मेयरमा मत मागिरहेका माओवादी प्रदेश कमिटीका एक सदस्य भन्छन्, ‘राजनीतिक रुपमा ठूलो हानी व्योहोरेर गठबन्धन गरिएको छ । नतिजामा पनि भर पर्ने स्थिति छैन ।’

नेकपा एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतका अनुसार एमालेसँग एक्लाएक्लै चुनाव लड्दा लज्जास्पद हार व्योहोर्ने देखेपछि सिद्धान्त मिल्ने,नमिल्ने सबै पार्टी एक भएर चुनाव लडेका हुन् । ‘गठबन्धन भएर चुनाव हार्दा अपजसको भारी एक अर्काको टाउकामा थुपार्न सजिलो हुने भएर गरिएको लागू नहुने समझदारी हो यो,’ बस्नेत भन्नुहुन्छ, ‘गठबन्धन मार्फत प्रचण्डकी र छोरी र प्रकाशमानकी श्रीमती जिताउन सकिन्छ कि भन्ने उहाँहरुको झिनो आशा हो ।’

विगतको निर्वाचनमा पनि कांग्रेस र माओवादी गठबन्धन गरेका थिए । तर त्यसले सुखद् परिणाम दिएन । उल्टै कांगे्रससँग सत्ता सहकार्य गरिरहेकै बेला माओवादीले एमालेसँग गठबन्धन गर्‍यो । त्यो प्रवृति यसपाली पनि नदोहोरिएला भन्नेमा कांग्रेस नेताहरु ढुक्क छैनन् । कांग्रेसको शेखर कोइराला समुह माओवादीको यो प्रवृतिप्रति सचेत छ । त्यही भएर भरतपुरको चुनावी सभामा न शेखरको सहभागिता रह्यो न महामन्त्री गगन थापाको नै ।