२३ असार २०८३, मंगलबार 1783457372
Banner

माओवादीलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माआवादी केन्द्रलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई अझ बढी जनमुखी बनाउँदै समाजवादको आधार तयारतर्फ लैजाने अभियानमा कुनै कमजोरी हुन नदिइने बताउनुभयो । माओवादी केन्द्रको हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान प्रभावकारी बनाउँदै पार्टीलाई बलियो र एकताबद्ध गर्नुपर्ने उहाँले बताउनुभयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “कुनै पनि बहानाममा यस अभियानलाई कमजोर पार्ने काम गरिनुहुन्न ।”

माओवादी केन्द्रले राज्य सञ्चालनका क्रममा सुशासन अभियान सञ्चालन गरेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले त्यो अभियान जस्तै पार्टीको रुपान्तरण र पुनर्गठनका लागि पनि पार्टीभित्र भ्रष्टीकरणको प्रक्रियालाई रोक्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वैचारिक र सांस्कृतिक स्खलनको प्रक्रियाविरुद्ध सङ्घर्ष गर्ने, विधि पद्धति स्थापित गर्न सङ्घर्ष गर्नु आवश्यक छ ।” माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीमा असाधारण एकता सुरु भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको थियो । उहाँले भन्नुभयो, “अध्यक्ष दाहालकै नेतृत्वमा पार्टीको रुपान्तरण र पुनर्गठन अभियान सुरु गरेका छौँ । एकताबद्ध, शक्तिशाली र क्रान्तिकारी पार्टी बनाउने तयारीमा लागिएको छ । यसमा हामी अझै बढी प्रभावकारी ढङ्गले अघि बढ्छौँ ।” फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले ल्याएका छवटा अध्यादेश पास हुन नदिने बताउनुभयो । संसद्लाई पछि सारेर अध्यादेश ल्याइएको उहाँको आरोप थियो ।