४ आश्विन २०८१, शुक्रबार 1726841357
राजनीति

मेरो विचारमा सहमत भएर उमेर नपुगेकाहरू पनि मतदान गर्न इच्छुक छन् : केशव स्थापित

काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरका लागि मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो योजना र विचारमा मतदान गर्न उमेर नपुगेका बालबालिका पनि सहमत भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘मेरो कुरा सुनेर उमेर नपुगेका बालबालिका पनि मतदान गर्न इच्छुक देख्छु ।’

समाजमा अझै महिला र पुरुषबिच विभेद रहेको बताउँदै उहाँले आफ्नो मुख्य उदेश्य भनेकै विभेद हटाउने रहेको उल्लेख गर्नुभयो । ‘पहिले विभेद हटाउनु पर्छ । महिला पुरुष समान हुन् । यो विचार सबैमा भए मात्रै समाजको विकास हुन्छ,’ उहाँले भन्नुभयो ।

समाजमा महिला पुरुष सँगै बसेर कफी खाएको फोटो हालेर अनेक कथा बुन्नेको संख्या धेरै रहेको बताउँदै उहाँले भन्नुभयो, ‘यो सबै विभेद कै कारण भएको हो । यहाँ चिया खाएर बस्दा पनि अनेक कथा बुन्ने छन् । सबैको आआफ्नै कथा हुन्छ तर मनगणन्ते कथा कसैले हाल्न पाउँदैन ।’

विकासका विषयमा बोल्दै उहाँले काठमाडौं महानगरलाई सरकारले दिने ४ अर्बले फोहोर उठाउन पनि नपुग्ने भएकाले तेब्बर रकम महानगरलाई दिनुपर्ने उहाँको भनाई थियो । उपत्यकाको धुलो हटाउन प्रदेश नाकामा सुरक्षा जाँच राखेर सवारी धुने व्यवस्था गर्नुपर्ने विचार राख्नुभएका उहाँले यस्ता योजना आफ्नो घोषणापत्रमा भएको बताउनुभयो ।