ताप्लेजुङ । ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल आसपासका क्षेत्रमा गुराँस फुलेर वनजङ्गल राताम्य देखिन्छन् । यसले प्रकृति प्रेमीलाई लोभ्याउँछ, बरु पर्यटन उद्योगसमेतमा सकारात्मक प्रभाव पार्छ । गुराँस फुल्ने मौसममा व्यापार बढ्ने स्थानीयको भनाइ छ ।

गुराँस हेर्नका लागि मानिस टाढा–टाढाबाट आउँछन् । यहाँ आउनेहरू गुराँससँग रमाउने मात्र नभई सोही कारणले व्यवसायलाई पनि टेवा पुगेको छ । गतवर्ष भन्दा यस वर्ष केही समय छिटो गुराँस फुलेको फुङ्लिङ नगरपालिका–७ का एलबी राईले बताए।
गुराँस फुल्न थालेपछि सामाजिक सञ्जाल पनि रङ्गीन बन्न थालेका छन् । मानिसले गुराँससँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा चर्चित बन्दै गएका छन् । कतिपय पर्यटक यहाँ गुराँस हेर्न मात्र होइन, प्राकृतिक सौन्दर्यसँग रमाउन पदयात्रा गर्न रुचाउँछन् । यस्ता गतिविधिले पाथीभरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको स्थानीय बताउँछन् । गुराँस सुन्दरता प्रदर्शनका लागि मात्र सीमित छैन । यसका औषधीय गुण पनि छन् । गुराँसका पात, बोक्रा र फूललाई विभिन्न औषधिमा प्रयोग गरिन्छ । स्थानीयस्तरमा गुराँसको अचार, सर्वत, रक्सी उत्पादन गरेर आर्थिक गतिविधि बढाउने पहल भइरहेको छ । ताप्लेजुङमा विगतका तुलनामा अलिक छिटै गुराँस फुल्नथालेका फुङ्लिङ–९ का स्थानीय लेकाली कान्छा मुक्कुमले बताए ।
गुराँसलाई अझ व्यवस्थित ढङ्गले संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सकिने मुक्कुमले बताए । सरकार तथा सरोकार भएका निकायले गुराँस उद्यान स्थापना गरी यसको व्यावसायिक उपयोगमा जोड दिनुपर्नेमा उनले जोड दिए ।
नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये ताप्लेजुङ, तेह्रथुम र सङ्खरसभा जिल्लाको सङ्गमस्थल तीनजुरे मिल्के २८ प्रजातिका पाइन्छन् । ताप्लेजुङको पाथीभरा क्षेत्रमा २६ प्रजातिको गुराँस पाइने तथ्याङ्क रहेको संरक्षण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका हिमाली संरक्षण मञ्च संस्थाका कार्यक्रम संयोजक रमेश राईले बताए ।
‘पाथीभरा क्षेत्र गुराँससँगै पर्यटनका लागि उत्कृष्ट सम्भावना बोकेको गन्तव्य बन्न सक्छ । यहाँको प्राकृतिक सौन्दर्य, विशेष गरी वसन्त ऋतुमा फुल्ने गुराँसका विभिन्न प्रजाति, पर्यटकलाई लोभ्याउने प्रमुख तत्व हुन सक्छन्’ उनले बताए ।
स्थानीय निकाय, पर्यटन व्यवसायी, तथा सरकारको सहकार्यमा प्रभावकारी प्रचारप्रसार, पूर्वाधार विकास र दिगो पर्यटन रणनीति लागू गर्न सकियो भने यो क्षेत्र गुराँस पार्कको रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।
गुराँस फुल्न थालेपछि नेपालका विभिन्न ठाउँमा पर्यटकको भीड लाग्छ। तिनजुरेमा मात्र होइन, नेपालमै यति धेरै गुराँस हेर्न पुग्छन् भन्ने मैले परिकल्पना पनि गरेको थिइनँ। मानिसहरू भन्दैथिए, “आज तिनजुरेमा चारपाङ्ग्रे गाडीको सङ्ख्या एक हजारभन्दा बढी कट्यो।” मोटरसाइकलको सङ्ख्या त्यसको दुई–तीन गुणा बढी देखिन्थ्यो।
पर्यटकहरू ढकमक्क फुलेका गुराँसका दृश्यमा रमाइरहेका थिए। टिकटक बनाउनेहरू त अत्यधिक सङ्ख्यामा देखिन्थे। हामीले पनि केही ठाउँ गाडीबाट ओर्लिएर गुराँसका तस्बिर खिच्यौं। तिनजुरेमा गुराँसका तस्बिर खिच्नेहरूले “आहा ! तिनजुरेमा कति धेरै गुराँस प्रजातिहरू फुलेका” भन्दै गरेको निकै ठाउँ सुनें। उनीहरू रातो, सेतो, गुलाबी, फिक्का रातो, फिक्का गुलाबी रङमा फुलेका गुराँसका बोटहरूलाई भिन्नभिन्न प्रजाति भनेर गन्दै गरेको देखिन्थ्यो।
तर, वास्तविकता त्यस्तो थिएन। त्यहाँ वैशाखमा एकै प्रजातिको लालीगुराँस मात्रै भिन्नभिन्न रङमा फुलेका थिए। तिनजुरे क्षेत्रमा वैशाख महिनामा लालीगुराँस बाहेक रातो चिमाल भनिने एक अर्को प्रजातिको रातो गुराँस फुल्छ। तर, त्यो पाँचपोखरीतिर एकाध बोट मात्रै छन्। वैशाखको दोस्रो साता फूल फुलेर झरिसकेको थियो।
संसारभर रोडोडेन्ड्रन वंशमा १ हजार ९६ प्रजाति सूचीकृत छन्। तीमध्ये एक प्रजाति लालीगुराँस हो। जीवविज्ञानमा प्रजातिको नाम वंश नामपछि लेखिन्छ। लालीगुराँस गुराँसको एक प्रजाति नाम हो। लालीगुराँसको वैज्ञानिक नाम ‘रोडोडेन्ड्रन अर्बोरियम’ हो। अर्बोरियमले ठूलो रूख भन्ने जनाउँछ।
विविध रङमा लालीगुराँस
तिनजुरे तेह्रथुमस्थित लालीगुराँस नगरपालिकामा पर्छ। त्यहाँ जान पूर्वी नेपालको सुन्दर नगरी धरानबाट लालीगुराँस नगरपालिकाकै वसन्तपुर बजार भएर जानुपर्छ। मध्यपहाडी लोकमार्ग भएर पनि वसन्तपुर पुग्न सकिन्छ।
वसन्तपुर बजार समुद्री सतहबाट २,२९० मिटरजति उचाइमा छ। त्यहाँबाट तिनजुरे जान उत्तरतर्फ समुद्री सतहबाट करिब २,५१० मिटर उचाइमा रहेको टुटेदेउराली पुग्नुपर्छ। त्यहाँबाट सडक पश्चिमतिर जाने सङ्खुवासभा र उत्तरतिर जाने तिनजुरे जान्छ।
तिनजुरेतर्फ लाग्दा करिब २,५४० मिटर उचाइबाट गुराँसको वन शुरु हुन्छ। शुरुमा गुराँसका रूखहरू बडेमानका बाझ, खस्रुका रूखहरूसँग मिसिएको देखिन्छन्। अलि उकालो लाग्दै गएपछि गुराँसकै मात्र रूखहरूले ढाकेको जङ्गल शुरु हुन्छ।
त्यहाँका धेरैजसो गुराँसका रूखमा रातो गुराँस फुलेको भेटिन्छ। यो वर्ष रातो, गुलाबी, फिक्का गुलाबी र सेतो रङ मिश्रित फुलेको पनि देखियो। एकाध ठाउँ गुलाबी रङमा पनि फुलेका थिए । गुलाबी रङको लालीगुराँसको भित्री भाग थोरै फिक्का वा सेतो थियो। उक्त फूलको पुष्पपत्रमा साना गाढा खैरा वा काला थोप्लाहरू थोरै सङ्ख्यामा देखें।
यो वर्ष फिक्का गुलाबी र सेतो पनि प्रशस्तै फुलेको थियो । यसको पुष्पपत्रको भित्री भागमा धेरै वटा गाढा खैरा वा काला साना थोप्लाहरू थिए। फूलको बाहिरी किनारामा थोरै गाढा गुलाबी रङको छाया देखिन्छ। तिनजुरेमा कतैकतै हल्का गुलाबी लालीगुराँस पनि फुलेको थियो । यसका पुष्पपत्रको बाहिरी किनाराहरू अलि गाढा गुलाबी छन्। फूलको भित्री केन्द्र भाग भने अलि सेतो वा फिक्का रङको देखिन्छ। यसमा खैरा वा काला साना थोप्लाहरू तुलनात्मक रूपमा थोरै सङ्ख्यामा छन्। उनले पहेंलो रङको लालीगुराँस तिनजुरे नजिकको तिनजुरे चौकीमा र मिल्केडाँडामा अमेरिकनहरूले सन् १९९३ मा देखेको लेखेका छन्। मैले भने अहिलेसम्म यो रङमा फुलेको लालीगुराँस देखेको छैन। सन् २००२ देखि कहिलेकाहीं त्यहाँ पुग्दा कतै देखिन्छ कि भन्ने ध्याउन्नमा हुन्छु।
सगरमाथा राष्ट्रिय निकुञ्जमा रोयल बोटानिकल गार्डेन एडिनबरा (स्कटल्यान्ड) का वनस्पतिविज्ञ एन्टोनी मिलरले गाढा गुलाबी रङको लालीगुराँसको तस्बिर सन् २००४ मा खिचेका छन् । यो रङलाई रानी–गुलाबी पनि भन्न सकिएला। फूलका भित्री भागमा साना गाढा खैरा वा बैजनी रङका थोप्लाहरू न्यून सङ्ख्यामा छन्। वसन्तपुरस्थित चोत्लुङ पार्कमा १०/१२ प्रजातिका गुराँस रोपिएका छन्। तिनीहरू सबै फुलेको अवस्थामा पुगेको छैन। तिनका पातमुनिको रङ वा संरचना २/३ किसिमका छन्। त्यसको अर्थ तिनीहरू लालीगुराँसका फरक–फरक उपप्रजाति तथा भेराइटी हुन्।
चोत्लुङ पार्कको भौगोलिक उचाइभन्दा कम उचाइमा त्यहाँ रोपिएका रोडोडेन्ड्रन डाहलहौसी, ग्रान्डे, लिन्डलेयी, भ्याक्सीनोइड, भिरगाटम हुर्कन सक्ने भए पनि तिनीहरू चिसो र छायादार भूगोलमा मात्र हुन्छन्।
त्यहाँ चोत्लुङ पार्कजतिको उचाइ तर चिसो र छायादार भूभागमा पाइने अत्यन्त सुन्दर सेतो फुल्ने रोडोडेन्ड्रन ग्रिफिथियनम रोपिएको छैन। चोत्लुङ पार्कमा गुराँसका एक दर्जनभन्दा बढी प्रजाति रोपिएको भए पनि यसलाई राम्रोसँग जोगाइएको छैन। मल, पानी हालिए जस्तो देखिन्न। ३ देखि ४ हजार मिटरसम्म उचाइमा पाइने केही गुराँस प्रजातिहरू चिसो अनि छायादार वासस्थान नतुल्याएसम्म त्यहाँ रोपिएका बिरुवा अब नबाच्लान्।गुराँस अम्लीयपना भएको माटोमा राम्रोसँग बढ्ने वनस्पति हो। तिनजुरेको माटो पनि अम्लीय भएकाले त्यहाँ गुराँस अत्यधिक फैलिएको छ। वनस्पतिका फूलमा देखिने रङ मुख्यतः तिनमा रहेको एन्थोसाइनिन (Anthocyanin) लगायत विभिन्न रासायनिक पदार्थ, तत्त्व र माटोमा भएका खनिजहरूले प्रभाव पार्छ।
तिनजुरे क्षेत्रमा लालीगुराँस अनेक रङमा फुल्नुको मुख्य कारण त्यहाँका बिरुवामा एन्थोसाइनिनको मात्रा फरक–फरक हुनु हो। बिरुवाले माटोको अम्लीयता (pH स्तर) अनुसार एन्थोसाइनिन उत्पादन गर्ने भएकाले एउटै प्रजातिमा पनि रङको विविधता देखिन्छ।
लालीगुराँसको रातो, गुलाबी वा बैजनी रङ मुख्यतः एन्थोसाइनिन नामक रङद्रव्य (Pigment) का कारण उत्पन्न हुन्छ। लिन–जियाङ ये, माइकल माएलर, याङ–ह्वाङ लुओ लगायतका अनुसन्धानकर्ताले सन् २०२१ मा ‘बीएमसी प्लान्ट बायोलोजी’ मा प्रकाशित लेखमा गुराँसका फूलको रङ निर्धारणमा एन्थोसाइनिनको प्रमुख भूमिका रहेको उल्लेख गरेका छन्।
अनुसन्धान अनुसार माटो बढी अम्लीय भए फूल रातो वा गुलाबी देखिन्छन् भने माटोको अम्लीयता कम वा तटस्थतर्फ गए फूल बैजनी रङका देखिन सक्छन्। कहिलेकाहीं एन्थोसाइनिन उत्पादन गर्ने जिन कमजोर वा निष्क्रिय हुँदा फूल सेता पनि हुन सक्छन्। तिनजुरेमा एउटै स्थानमा रातो, गुलाबी र फिक्का सेता फूल फुल्ने गुराँस देखिनुका कारण यस्तै आनुवंशिक तथा रासायनिक भिन्नता हुन सक्छ।
लालीगुराँसको फूलको रङ निर्धारणमा एन्थोसाइनिन मात्र होइन, फ्लाभोनोइड्स (Flavonoids) नामक अन्य रासायनिक पदार्थहरूको पनि भूमिका हुन्छ। साथै, वनस्पतिको कोषिकाभित्र रहेको अम्लीयपनाले पनि रङको गाढापन वा हल्कापनमा प्रभाव पार्छ।
भौगोलिक कारण
लालीगुराँस समुद्री सतहबाट करिब १,१०० मिटरदेखि ४,४०० मिटरसम्म पाइन्छ। यति ठूलो उचाइ अन्तरमा यसको वितरण हुनु भनेको यो पूर्ण रूपमा एउटै स्वरूपको प्रजाति मात्र होइन भन्ने सङ्केत हो। यसभित्र विभिन्न उपप्रजाति (Sub-species), भेराइटी (Variety) तथा स्थानीय जनसङ्ख्या रहेका छन्, जसबीच आनुवंशिक भिन्नता पनि पर्याप्त पाइन्छ।
कम उचाइमा पाइने लालीगुराँसले तुलनात्मक रूपमा बढी ताप सहन सक्छ र बाक्लो जङ्गलमा हुर्किएको देखिन्छ। उच्च हिमाली क्षेत्रमा पाइने लालीगुराँस भने चिसो तथा पराबैजनी प्रकाश (UV Radiation) सहन सक्ने विशेषतायुक्त हुन्छन्। त्यस्ता क्षेत्रमा उम्रिने बिरुवाका पात साना, बाक्ला र अपेक्षाकृत कडा देखिन्छन्।
धरानको उत्तरतर्फ भेडेटार आसपासका क्षेत्रमा लालीगुराँस प्रायः रातो रङमा फुल्छ। धनकुटा हुँदै तेह्रथुमको सिँधुवा र चित्रेतिर पनि रातै रङका गुराँस बढी देखिन्छन्। वसन्तपुर आसपासका क्षेत्रमा भने रातो र हल्का गुलाबी दुवै प्रकारका फूल देख्न सकिन्छ।
टुटेदेउरालीबाट उत्तरतर्फ, करिब २५००–२६०० मिटर उचाइमा पुगेपछि हल्का सेता वा फिक्का गुलाबी गुराँस देखिन थाल्छन्। तिनजुरेको २७००–२८०० मिटर आसपास विविध रङका गुराँस फुल्नुको मुख्य कारण त्यहाँको भौगोलिक अवस्था हो। दक्षिण फर्किएका फराकिला मोहडा, पर्याप्त घाम, बाक्लो हुस्सु तथा चिस्यानले गर्दा त्यहाँका बिरुवामा रङ उत्पादन गर्ने रासायनिक प्रक्रियामा भिन्नता आउँछ।
यस्ता वातावरणीय अन्तरका कारण एउटै क्षेत्रमा रहेका बिरुवामा पनि एन्थोसाइनिन र अन्य रङद्रव्यहरूको मात्रा फरक हुन सक्छ। यही भिन्नताले फूलका रङमा समेत विविधता उत्पन्न गरेको देखिन्छ।लालीगुराँसको एउटै फूलमा भाले र पोथी दुवै प्रजनन अङ्ग हुन्छन्। पोथी प्रजनन अङ्ग एउटा लामो र स्पष्ट देखिने हुन्छ भने भाले प्रजनन अङ्ग सलाईका काँटी जस्ता १० वटा हुन्छन्। ती २–३ तहको उचाइमा मिलेर बसेका हुन्छन्।
भाले प्रजनन अङ्गको टुप्पोमा रहेको थैलीमा असङ्ख्य परागकण हुन्छन्। गुराँसमा परागकण मौरी, भमरा तथा साना चराहरूको सहायताले पोथी प्रजनन अङ्गको योनि (Stigma) सम्म पुग्छ। फूलभित्रको गुलियो रस सङ्कलन गर्न आउने यस्ता जीवका खुट्टा र चुस्ने भागमा परागकण टाँसिन्छन्।
परागकण पोथी अङ्गको योनिसम्म पुग्ने प्रक्रियालाई परागसेचन भनिन्छ। एउटा गुराँसको फूलको परागकण अर्को गुराँसको फूलमा पुगेर गर्भाधान हुँदा वर्णसंकर (Hybrid) बिरुवा बन्न सक्छ। यही कारण एउटै क्षेत्रमा फरक–फरक रङका गुराँस देखिन सक्छन्।
सन् २०१६ मा ‘मोडर्न फाइटोमोर्फोलोजी’ मा प्रकाशित अध्ययनमा गुराँसका परागकणको स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोप (Scanning Electron Microscope) बाट खिचिएको तस्बिर समावेश गरिएको थियो। त्यस्ता तस्बिरलाई स्क्यानिङ इलेक्ट्रोन माइक्रोग्राफ भनिन्छ। त्यसमा गुराँसका परागकण चारवटा साना दाना जस्ता संरचना जोडिएर बनेको देखिन्छ, जसलाई “टेट्राड” (Tetrad) भनिन्छ। तस्बिरमा ३ वटा दाना मात्र देखिएको छ, एउटा दाना पछाडिपट्टि छ।
परागकणको बाहिरी भागमा अति सूक्ष्म टाँसिने धागा जस्ता संरचना हुन्छन्, जसलाई “भिसिन थ्रेड्स” (Viscin threads) भनिन्छ। यी धागा निकै चिप्ला र टाँसिने भएकाले मौरी वा कीराको शरीरमा सजिलै टाँसिन्छन्। पोथी अङ्गको योनिमा पनि चिप्लो पदार्थ निस्किएको हुन्छ। त्यहाँ पुगेपछि परागकण अड्किन्छ र अङ्कुरण शुरु हुन्छ।
त्यसपछि परागकणबाट सूक्ष्म परागनली (Pollen tube) विकसित भई अण्डाशयतर्फ बढ्छ। अन्ततः भाले र पोथी प्रजनन कोषको मिलन भएपछि भ्रूण बन्छ र त्यसैबाट बीउ तथा फल विकास हुन्छ।
परागकणको बाहिरी आवरण अत्यन्त कडा हुन्छ। यसमा स्पोरोपोलिनिन (Sporopollenin) नामक टिकाउ जैविक पदार्थ हुने भएकाले परागकण लाखौं वर्षसम्म जीवाश्मका रूपमा सुरक्षित रहन सक्छ। यिनै जीवाश्मको अध्ययनबाट कुनै क्षेत्रमा गुराँस कहिलेदेखि थियो भन्ने अनुमान गर्न सकिन्छ।
एस. भण्डारी र के.एन. पौडेलले ललितपुरको लुकुन्डोल क्षेत्रमा गरिएको उत्खननमा गुराँसलगायत विभिन्न वनस्पतिका परागकणका जीवाश्म फेला पारेका थिए। ती जीवाश्म करिब २५ लाखदेखि १० लाख वर्ष पुराना मानिन्छन्। यो अध्ययन ‘जर्नल अफ नेपाल जिओलोजिकल सोसाइटी’ मा सन् २००७ मा प्रकाशित भएको थियो। यसले काठमाडौं उपत्यकामा गुराँस निकै पहिले फैलिएको सङ्केत गर्छ। तिनजुरेमा काठमाडौं उपत्यकाभन्दा पहिले दक्षिणपूर्वी चीनबाट विस्तार भएको हुनुपर्छ।


