काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले प्रवेश नदिएको घटनाप्रति आयोगले आपत्ति जनाएको छ।
आयोगका अनुसार जबराको अवस्थाबारे बुझ्न र अनुगमन गर्न पुगेको टोलीलाई करिब ४५ मिनेटसम्म कार्यालयको गेटमै रोकिएको थियो। त्यसपछि टोली जबरासँग भेट नगरी फर्किएको थियो। आयोगले आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारीअनुसार अनुगमनमा गएको टोलीलाई रोक्नु गम्भीर विषय भएको जनाएको छ।
आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा अनुगमनमा अवरोध गर्ने प्रहरी कर्मचारीमाथि छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ। आयोगले सार्वजनिक तथा निजी संस्थाको निरीक्षण र मानव अधिकारको अवस्थाबारे अनुगमन गर्ने आफ्नो अधिकारसमेत स्मरण गराएको छ। यसैबीच प्रहरीले जबरालाई पक्राउ नभई सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा राख्न टेकु ल्याइएको दाबी गरेको छ।
प्रहरीले उनीविरुद्ध कुनै मुद्दा अघि बढाउने योजना नरहेको बताएको थियो। पछि जबरालाई परिवारको जिम्मा लगाएर सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ। तर उनलाई घरबाट टेकु ल्याउनुको आधार, भनिएको सुरक्षा जोखिम के थियो र किन निवासमै सुरक्षा व्यवस्था नगरिएको भन्ने विषयमा प्रहरीले स्पष्ट विवरण सार्वजनिक गरेको छैन। यही कारण घटनाको कानुनी आधार र प्रहरीको कार्यशैलीबारे प्रश्न उठेको छ।


