३० असार २०८३, मंगलबार 1784051024
अर्थ

महायज्ञमा १० लाख रकम सङ्कलन

दाङ : तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित बैङ्कटेश लक्ष्मीनारायण मन्दिरमा अक्षय कोष स्थापना तथा मन्दिर मर्मतसम्भार, धर्मशाला निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञमा आज एकैदिन रु १० लाख सङ्कलन भएको छ । महायज्ञ मूल समितिका संयोजक गोविन्दप्रसाद रजौरेका अनुसार महायज्ञमा तुलसीपुर–५ का जमुनाप्रसाद गुप्ताले रु एक लाख १५ हजार दान गर्नुभएको छ । उहाँले आफ्ना परिवारजनको स्मृतिमा सो रकम दान गर्नुभएको हो । त्यस्तै राष्ट्रिय समाचार समिति (रासस) दाङ कार्यालयकी प्रमुख नारायणी रजौरेले आफ्ना पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे, श्रीमान् हरिप्रसाद अधिकारी र भाई चन्द्रमणि रजौरेको स्मृतिमा रु एक लाख पाँच हजार दान गर्नुभएको छ । यसैगरी तुलसीपुर–६ रजौराका गोविन्दप्रसाद लम्सालले रु एक लाख ११ हजार, सोही ठाउँका विजय थापाले रु एक लाख एक हजार पाँच सय पाँच तथा सोही ठाउँकै नवराज रजौरेले रु एक लाख एक सय ५५ दान गर्नुभएको छ ।

त्यस्तै तुलसीपुर–६ का वासुदेव अधिकारीले रु एक लाख एक हजार, संयोजक गोविन्दप्रसाद रजौरेले रु एक लाख एक सय, बाँकेको कोहलपुरका हरिनारायण आचार्यले रु एक लाख एक हजार एक सय ११ तथा सल्यानको पिपल्नेटाका ईश्वरीप्रसाद गौतमले रु ५० हजार एक सय पाँच रकम दान गर्नुभएको छ । महायज्ञको मूल वाचकमा मन्दिरका मठाधिश बाल ब्रह्मचारी स्वामी श्रीकेशव चार्य (सूर्यपाकी) रहनुभएको छ । महायज्ञमा धाञ्चल, तुलादान, गोवर्धन पूजा, १००८ शालिग्राम प्रदक्षिणा एवं अर्चना, गौपूजा, व्रतबन्ध, लक्ष्यवर्ती प्रज्वलन र ८४ पूजालगायत अवसर प्रदान गरिएको छ । दान गर्ने सबैलाई आजै एक कार्यक्रमबीच सम्मान गरिएको छ । उहाँहरुलाई वैष्णव परिषद् नेपालका केन्द्रीय अध्यक्ष तथा स्वामी देवराजचार्यले दोसल्ला र कदरपत्रद्वारा सम्मान गर्नुभएको हो ।