७ जेष्ठ २०८३, बिहिबार 1779379321
समाचार

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ, १६ फागुनः नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएका भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता हुनुभएको छ ।

नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा २६२ औँ सेना दिवसमा भाग लिन काठमाडौँ आउनुभएका भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विदाइ गरिँदै ।तस्बिर सौजन्य : नेपाली सेना

यही फागुन १३ गते नेपाल आउनुभएका नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू कार्यक्रमपश्चात आज स्वदेश फिर्ता हुनुभएको नेपाली सेनाले जनाएको छ । उक्त भ्रमणमा आउनुभएका जनरल (डा) मनोजमुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) फागुन १५ गते स्वदेश फिर्ता हुनुभएको थियो । त्यस्तै जनरल जोगिन्दर जसवन्त सिंह (अप्रा), जनरल दीपक कपुर (अप्रा), जनरल (डा) विजयकुमार सिंह (अप्रा), जनरल दलवीर सिंह सुहाग (अप्रा) आज स्वदेश फिर्ता हुनुभएको हो ।

उक्त भ्रमण दलले नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरूको समेत भ्रमण गरेको थियो ।