काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकाएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ भन्दै रुस र युक्रेन दुले युद्ध अन्त्यका लागि ठुलो मूल्य चुकाउनु पर्ने अवस्था देखिएको बताउनुभएको छ ।
साथै उहाँले अमेरिकाको पछिल्लो रणनीतिले अबको एशिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गरेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ–
अमेरिका र युक्रेन बीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसंगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसंगको सम्बन्ध बिग्रँदा ठुला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ ।
आज रुस र युक्रेन दुबैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठुलो मूल्य चुकाउनु पर्ने अवस्था देखिँदै छ ।
शान्ति र स्थायित्वका लागि अव हरेक देशले सोच्नु पर्दछ, क्षेत्रीय शान्ति विना विश्व शान्ति सम्भव हुँदैन । त्यसमाथि एशियाली देशहरूले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एशिया विश्वसभ्यताको केन्द्रका रूपमा पुनः स्थापित हुने अवस्था छ ।
अमेरिकाको पछिल्लो रणनीतिले अबको एशिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ । गाजा क्षेत्र प्यालेस्टानीहरुवाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ । साथै रुस र युक्रेन बीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ । यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिबाट एशियाली राष्ट्रहरू विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।


