१७ असार २०८३, बुधबार 1782907408
Banner

विधानभित्र रहेर पार्टी अधिवेशन हुन्छ, सभापतिभन्दा तल मान्दिनँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र दिगो सरकार निर्माणका लागि प्रमुख दुई दलबीच सहकार्य भएको बताएका छन्। उनले जनचाहना अनुसार संविधान संशोधन गर्दै दिगो र स्थायी सरकार निर्माण गर्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताए।

‘राजनीति स्थायित्व र स्थिरता हुनुपर्यो भन्ने जनताको चाहना हो,’ नेपाल प्रेस युनियन सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले भने, ‘दिगो सरकार चाहियो भन्ने जनचाहना अनुसार प्रमुख दुई दल मिलेर सरकार बनेको हो।’ उनले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेकाले सोचे अनुसार काम हुन नसकेको पनि स्वीकार गरेका छन्।

प्रधानमन्त्रीसँग भएको कार्य सम्पादन मूल्यांकन अनुसार मन्त्रालयहरूले काम गरिरहेको पनि उनले उल्लेख गरे। उपप्रधानमन्त्री सिंहले विधान र संविधानको परिधिभित्र रहेर पार्टी अधिवेशन हुने पनि स्पष्ट पारेका छन्। आफू अघिल्लो पटक पनि पार्टी सभापति उठिसकेकाले त्यो भन्दा तल आफ्ना लागि ठाउँ नभएको जिकिर उनको थियो। उनले संसद नचलेका बेला अध्यादेश ल्याउने प्रचलन रहेको बताउँदै सोही अनुसार सरकारले अध्यादेश ल्याएको उल्लेख गरेका छन्। उनले केही दिनभित्रै अध्यादेश पारित हुने पनि जानकारी दिए।