काठमाडौं : यथावत् चलाउन दिने कि भवन नै भत्काउने भन्ने टुंगो लागिनसकेको छायाँदेवी कम्प्लेक्सका लगानीकर्ताहरू भने सर्वसाधारणलाई सेयर बेचेर आफ्नो लगानी सुरक्षित गर्ने दाउमा देखिएका छन् । राजधानीको ठमेलस्थित ऐतिहासिक पोखरी मासेर निर्माण भएको छायाँदेवी कम्प्लेक्सको आईपीओ निष्कासन गरेर जनतालाई सेयर बिक्री गरी रकम उठाउने दाउ रहेको देखिएको हो । सार्वजनिक जग्गामा गैरकानुनी रूपमा निर्माण भएको छायाँदेवी कम्प्लेक्सविरुद्ध परेको मुद्दाको अन्तिम किनारा सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने क्रममा रहेको छ । तर, सो कम्प्लेक्सका लगानीकर्ताहरू सर्वोच्चको निर्णय आउनुअगावै सेयर बेच्ने योजनाका साथ नेपाल धितोपत्रबाट स्वीकृति लिने कसरतमा लागेका हुन् । त्यसका निम्ति उनीहरूले नेपाल धितोपत्र बोर्डमाथि विभिन्न शक्ति केन्द्रबाट दबाब पु¥याउँदै आएको स्रोतको भनाइ छ । जसरी यसअघि जग्गा सार्वजनिक कि व्यक्तिको जग्गा भन्नेमा विवादकैबीच शक्ति केन्द्रहरूसँगको मिलेमतोमा भवन निर्माण गरी १५ तले कम्प्लेक्स बनाएर भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएका थिए ।
त्यसै गरी अहिले मुद्दाको किनारा नलाग्दै सर्वसाधारण जनतालाई सेयर बेचेर आफू उम्किने दाउमा रहेको पाइन्छ । छायाँदेवी कम्प्लेक्सले १४ लाख ३७ हजार ५ सय कित्ता सेयर प्रतिकित्ता ४ सय रुपियाँ प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्नका लागि बोर्डमा आवेदन दिएको छ । पहिले नै छायाँदेवी कम्प्लेक्समा विभिन्न व्यवसायीलाई पसल कबल बिक्री गरेर केही रकम उठाइसकेका यसका सञ्चालकहरूले जनतालाई महँगो मूल्यमा सेयर बिक्री गरेर साढे ५७ करोड रुपियाँ उठाउन चलखेलमा लागिरहेका छन् । यसका सञ्चालकहरूले बोर्डबाट स्वीकृति लिन लामै कसरत गरिरहे पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेलामा आईपीओ निष्कासनको अनुमति दिन भने बोर्डका अधिकारीहरू हच्किरहेको स्रोतले जानकारी दियो । धितोपत्र बोर्ड स्रोतले भन्यो– ‘आईपीओ निर्णय गराउन बोर्डमाथि धेरैतिरबाट दबाब आइरहेको छ । तर, विवादास्पद निर्णय गर्न नेतृत्वले हिम्मत गरिरहेको अवस्था छैन ।’ सो कम्प्लेक्समा शुरूमा ४३ जनाको लगानी रहेकोमा हाल अधिकांशले बेचेर १७ जनामा आइपुगेका छन् । धेरैले कम्प्लेक्समा गरेको लगानी उठाइसकेका छन् । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डे र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे प्रमुख रहेका छन् ।


