४ आश्विन २०८१, शुक्रबार 1726884798
Banner

प्रचण्डलाई बिष्णु पौडेलको कटाक्ष, छोरी हार्दा देश संकटमा पर्ने भाषण गर्नु निकै लज्जाको विषय

कपिलवस्तु- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बुटवलदेखि गोरुसिंगेसम्मको ५० किमि आधुनिक सडक निर्माणका लागि एसियाली विकास बैंकसँगको समन्वयमा डिपिआरको काम सम्पन्न भएको र केही समयमै विश्व बैंकको सहयोगमा टेन्डर आह्वान हुने बताउनुभएको छ ।

उपाध्यक्ष पौडेलले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको शानदार विजय हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले आफु अर्थमन्त्री हुँदा सो सडकको अगुवाई गरेको जानकारी गराउनुभयो । नेता पौडेलले सुकुम्बासी समस्या, अब्यवस्थित बसोवासीको समस्या एमालेको नेतृत्वमा बन्ने सरकारले मात्र स्थायी रुपमा समाधान गर्ने दावी गर्नु भयो ।

उपाध्यक्ष पौडेलले जनप्रतिनिधिले जनताको सेवकको रुपमा काम गर्ने बताउँदै र वाणगंगाको विकास एमालेको जिम्मेवारी हुने छ भन्नुभयो । नेता पौडेलले गठबन्धन रोइरहेको बताउँदै जनाधार भएको एमालेले देशब्यापी रुपमा महानगरपालिका, उपमहानगरपालिका र पालिकाहरुमा शानदार विजय हासिल गर्ने वताउनुभयो ।

उहाँले नेकपा (एमाले) बाणगंगा निर्वाचन परिचालन कमिटीद्वारा बनगाईमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

नेता पौडेलले नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सचिवालय सदस्य एवम् अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य डा. धर्मराज भट्टराईसहितका विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने १०१ जनालाई स्वागत गर्नुभयो ।

नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणि अर्यालले सातवटा गाविस मिलेर निकै कमजोर भौतिक पूर्वाधारको अवस्थामा नगरपालिका बनेको चर्चा गर्दै पाँचवर्षको अवधिमा आफुहरुबाट दुईसय किमिभन्दा बढी सडक कालो पत्रे, तीन सय किमिभन्दा वढी ग्रावेल, विद्यालय भवन निर्माण, स्वास्थ्य चौकीका भवन निर्माणको काम भएको बताउनुभयो ।

मेयरका प्रत्यासी अर्यालले विगतमा नगरपालिकाका लागि आवश्यक ऐन, कानून निर्माण गरिएको, सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको चर्चा गर्दै यस अवधिको सिकाईबाट नगरलाई उत्कृष्ट नगरपालिकाको रुपमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नव प्रवेशी डा. धर्मराज भट्टराईले वर्तमान समयको आवश्यकता एमाले पार्टी नै रहेको बताउँदै छिट्टै एमाओवादीबाट ठूलो समूह एमालेमा आउने दावी गर्नु भयो ।

नव प्रवेशी भट्टराईले एमाओवादीमा आफूले २० वर्ष व्यतित गरेको जानकारी गराउँदै प्रचण्डको चितवनको चुनावी सभाको भाषण सुन्दा आफुलाई आत्मग्लानी भएको वताउनुभयो । छोरी हार्दा देश संकटमा पर्ने भाषण गर्नु निकै लज्जाको विषय भएको उहाँको भनाइ थियो ।

नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीका संयोजक विश्राम प्रसाद थारुको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य, कृषि तथा पशुपंक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपाने, नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा लगायतका नेता, कार्यकर्ताहरु एवम् स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।