काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा तयार भएको हो भन्दै सरकारलाई प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्दै सांसद सापकोटाले यस्तो प्रश्न उठाएका हुन्। उनले लोकतान्त्रिक मूल्यमान्यताको आधारमा अध्यादेशको प्रक्रिया पूर्णरूपमा गलत भएको बताए। सरकारले अध्यादेश ल्याएर संविधानलाई जिस्क्याएको आरोप समेत लगाए। उनले गिरिबन्धुको गन्ध आउने गरी सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको टिप्पणी गरे।
सांसद सापकोटाले भने, “लोकतान्त्रिक मूल्यमान्यताको हिसाबले यो अध्यादेशको बाटो सर्वथा गलत छ। यसले सम्पूर्ण रूपमा संसदलाई नाङ्गो ढंगले झम्टिराखेको छ। त्यसैले विधि र मान्यताको हिसाबले एउटा होइन, दुईटा होइन, तीन वटा होइन, चार वटा होइन, पाँच वटा पनि होइन। ६ वटा अध्यादेश र ३२ वटा ऐन ल्याइयो। यही हो लोकतन्त्र ? संविधानलाई जिस्क्याएर संविधानलाई खिसी गरेर ल्याइयो। यो कहाँ ड्राफ्ट भयो ? यसको बारेमा सोध्दा कोही जवाफ दिदैनन्। र यो कुन कर्पोरेट हाउसमा ड्राफ्ट भएर आयो ? र आदेश के गर्यो सरकारले भन्दा कमा र फुलस्टप समेत परिवर्तन नगरियोस्।”उनले सरकारले अध्यादेशमा रहेका ‘कमा’ र ‘पूर्णविराम’ समेत परिवर्तन नगरी पास गर्न खोजेको आरोप समेत लगाए।


