४ आश्विन २०८१, शुक्रबार 1726857344
समाचार

२८ वर्षपछि मासपुरवासीले पाए लालपूर्जा

हुम्लाको दुर्गम वस्तीका रुपमा चिनिने ताजाकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयवासीले २८ वर्षपछि लालपूर्जा पाएका छन् । विसं २०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपूर्जा पाएका हुन् । पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति–७ बँदेलचौरमा एक माना चामल र नुन लिएवापत जग्गाको तिरो तिर्दै आएका उनीहरुले २८ वर्षपछि भए पनि जग्गाको लालपूर्जा पाएकोमा खुसी भएको स्थानीयवासी ९२ वर्षीय दलवीर बुढाले बताउनुभयो ।

मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपूर्जा लिन जग्गाधनी नै नआएको बताएको छ । अनुगमनका क्रममा ताजाकोट गाउँपालिका जाँदा स्थानीयवासीले लालपूर्जा नपाएको गुनासो गर्नुभएको थियो । तर गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीयवासी नआएका कारण पाउन नसकेको मालपोत कार्यालयले जनाएको छ । १२ घरधुरीलाई गतवर्ष चैतमै लालपूर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ । गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपूर्जा वितरण गरिएको कार्यालयले जनाएको छ । दुई घरधुरीले सुरुमै लालपूर्जा लिइसकेका भए पनि अन्यले हालसम्म लालपूर्जा पाएका थिएनन् ।