७ जेष्ठ २०८३, बिहिबार 1779413473
Banner

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्वः प्रधानमन्त्री ओली

धनगढी, २५ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओली-सम्बोधन धनगढी(कैलाली), २५ फागुनः प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढीमा आइतबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुँदै। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विशेष सम्बोधन गर्दै उहाँले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको व्यवस्थाको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने स्पष्ट गर्नुभयो ।

उहाँले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका यसविरुद्ध उभिएकामा धन्यवाद व्यक्त गर्नुभयो । “पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएको छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिन परेन ?”, प्रधानमन्त्री ओलीको प्रश्न थियो, “राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रूपमा हुनुहुन्छ । अरू कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र ?” उहाँले अहिले दुई ठूला दलको सहमतिबमोजिम सरकार बनेको र सहमतिबमोजिम आफूले पूर्वघोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याउनुभयो ।