२३ श्रावण २०८३, शनिबार 1786179760
समाचार

माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु, चार जना घाइते

काठमाडौं : हुम्लामा माटोको ढिस्कोले पुरिएर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ। घटनामा अन्य चार महिला घाइते भएका छन्। सर्केगाड गाउँपालिका–७ को रोडिकोटस्थित राहाकोटमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बुधबार घर लिपपोत गर्ने माटो खन्ने क्रममा माथिबाट ढिस्को खसेर उनलाई पुरेको थियो। जैसीको घटनास्थलमै मृत्यु भएको  हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए।

माटोको ढिस्कोले पुरिँदा जैसीसँगै माटो खन्न गएका अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २५ वर्षीया तीर्थकला जैसी, २७ वर्षीया जालकी जैसी, २० वर्षीया लक्ष्मी जैसी र २६ वर्षीया मन्जु जैसी रहेका छन्। उनीहरु सबै खतरा मुक्त रहेका प्रहरीले जनाएको छ।