जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-९ भठियानमाप्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको पहिचान खुलेको छ । घाइते हुनेमा सहिद नगरपालिका-१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव रहेका छन् । सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा सोमबार झडप भएको थियो । दुई पक्षबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउनु परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याइएको डीएसपी सिंहले बताए । उनका अनुसार यादवको मलद्वारमा गोली लागेको छ । भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ ।