काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा र मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग भेटवार्ता भएको छ । ‘राइसिना डायलग’मा सहभागी हुनेक्रममा नयाँदिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री राणाले मल्दोभाका विदेशमन्त्री पोपसोइसँग भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपाल मल्दोभा सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा जलवायु परिवर्तनले नेपाललाई पारेको असर र सो समस्यासँग जुध्न मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।

मन्त्री डा राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी दिँदै त्यसपछि नेपाललाई आवश्यक पर्ने बाह्य सहयाताका र नेपालले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा दिएको उम्मेदवारीका बारेमा जानकारी दिँदै मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकी थिइन् । उनले यसै साता हुन लागेको विदेशमन्त्री पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेकी थिइन् ।