३ जेष्ठ २०८३, आइतबार 1779018370
Banner

ठोरीबाट प्रचण्डले भने- १५ चैतको प्रदर्शनपछि राजनीति सही ट्र्याकमा आउँछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी १५ गते काठमाडौंमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार तय हुने जिकिर गरेका छन् ।

पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन पनि सर्वसाधरणलाई आग्रह गरे । ‘यो सरकार उल्टो बाटो हिँडिरहेको छ । त्यसकारण यसलाई बढी नै सजक गराउनुपर्ने खबरदारी गर्नुपर्ने आवश्यकता छ । त्यसमा तपाईंहरू पनि ठूलो संख्यामा उपस्थित हुन आग्रह गर्दछु, यो आउँदो १५ गते,’ प्रचण्डले भने ।

उक्त सभापछि पुनः एकपटक जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास प्रचण्डले दिलाएका छन् । ‘मलाई लाग्छ १५ गते हामीले गर्ने विरोधसभापछि देशको राजनीति सही ट्र्याकमा आउने आधार बन्नेछ,’ प्रचण्डले भने, ‘फेरि एकचोटी जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वाससहित तपाईंहरू सबैलाई बढीभन्दा बढी संख्यामा काठमाडौं आउन आग्रह गर्छु ।’