सल्यान : राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय सल्यानमा आएका एक सेवाग्राहीको कार्यालयमै लडेर मृत्यु भएको छ । राष्ट्रिय परिचय पत्र बनाउन आएका बागचौर नगरपालिका–७ पैय्याचौर घर भई हाल टाटकेमा बस्दै आएका ७० वर्षीय टीकाराम ओलीको लडेर मृत्यु भएको हो ।
उनी कार्यालय परिसर भित्रै उभिएका बेला लडेका थिए । ओली आफ्नो भान्जी ज्वाइँसँग राष्ट्रिय परिचय पत्र बनाउन बिहीबार घरबाट जिल्ला प्रशासन कार्यालय सल्यानमा आएका थिए । लडेर बेहोस भएका ओलीको उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
उनका अनुसार लडेर बेहोस भएका ओलीको टाउकोमा चोट लागेको थियो । ओलीको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले एकासी ढलेर बेहोस भएका वृद्धको हृदयाघात भएर नै मृत्यु भएको हुन सक्ने बताए । वृद्धको टाउकोमा चोट लागेको उनले जानकारी गराए ।