४ आश्विन २०८१, शुक्रबार 1726838809
Banner

७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतपत्र ढुवानी सकेको छ । आयोगले निर्वाचनको तयारीलाई तीव्र पार्दै मतपत्र ढुवानीलगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेको हो ।

स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छपाएको आयोगले ७७ वटै जिल्लामा मतपत्रको ढुवानी सकिएको बताएको हो । सो निर्वाचनमा देशभर ७८ हजार मतपेटिका प्रयोग हुँदै छ भने निर्वाचनमा देशभर गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार छन् ।

– निर्वाचन तयारी तीव्र

– २ लाख कर्मचारी फिल्डमा

– १ लाख ४५ हजार ११ जना प्रतिस्पर्धामा

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७७ वटै जिल्लामा आयोगको केन्द्रीय कार्यालयबाट मतपत्र पठाइएको र धेरैजसो जिल्लाका मतदान अधिकृतले मतपत्रसमेत बुझिसकेको जानकारी दिए ।

‘७७ वटै जिल्लामा मतपत्र पठाउने काम सम्पन्न भइसकेको छ, केही जिल्लाका स्थानीय तहमा मतपत्र ढुवानी गरेर पु¥याउन समय लाग्ने भएकाले मतदान अधिकृतलाई मतपत्र बुझाइसकिएको छ भने सहज ढुवानी गर्न सकिने स्थानीय तहमा २७ गते बेलुकासम्म मतपत्र पु¥याउनेगरी तयारी गरिएको छ,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि नयाँ नेतृत्व चुन्नेगरी हुन लागेको निर्वाचनमा आयोगले देशभर ७८ हजार मतपेटिकालाई तयारी अवस्थामा राखेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि देशभर ७८ हजार मतपेटिका प्रयोग गर्नेगरी आयोगले तयारी अवस्थामा राखेको जानकारी दिए ।

आयोगका प्रवक्ता पौडेलका अनुसार निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल र मतदान केन्द्रमा गरी २ लाख बढी कर्मचारी निर्वाचनमा खटाइएको छ ।

‘स्थानीय तह निर्वाचनका लागि देशभर गरी २ लाख बढी कर्मचारी खटिएका छन्, आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल र मतदान केन्द्रमा गरी २ लाख बढी कर्मचारी फिल्डमा खटिसकेका छन्,’ आयोगका प्रवक्ता पौडेलले भने ।

नयाँ मतदातालाई परिचयपत्र दिइँदै
मतदाता शिक्षा कार्यक्रम २८ र २९ वैशाखमा
निर्वाचन आयोगले पहिलोपटक स्थानीय तह निर्वाचनमा सहभागी हुने मतदाता नामावली दर्ता गराएका नयाँ मतदातादाई २८ र २९ वैशाखमा मतदाता परिचयपत्र दिने तयारी गरेको छ ।

आयोगले यसअघिका निर्वाचनमा सहभागी भएका मतदातालाई पहिले नै मतदाता परिचयपत्र दिएको भए पनि नयाँ मतदातालाई भने सम्बन्धित मतदान स्थल र मतदान केन्द्रबाट मतदाता परिचयपत्र दिने भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नयाँ मतदातालाई २८ र २९ वैशाखमा सम्बन्धित मतदान स्थल र केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारीले परिचयपत्र वितरण गर्ने जानकारी दिएका हुन् ।

यसैगरी, आयोगले सो दुवै दिन स्थलगत रूपमा मतदातादाई निर्वाचनमा खटिएका कर्मचारीबाट मतदान गर्ने तरिका’boutसमेत जानकारी दिने भएको छ ।

‘आयोगले मतदातालाई स्थलगत रूपमा २८ र २९ वैशाखमा मतदान गर्ने तरिका’bout शिक्षा दिनेछ, सोही दिन नयाँ मतदातालाई मतदाता परिचयपत्र पनि वितरण गर्नेगरी व्यवस्था मिलाइएको छ,’ आयोगका प्रवक्ता पौडेलले भने ।

आयोगको तत्परता र सञ्चारमाध्यमको खबरदारीका कारण निर्वाचन सम्भव : थपलिया
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगको संवैधानिक तत्परता र सञ्चारमाध्यमको निरन्तर खबरदारीका कारण स्थानीय तहको निर्वाचन समयमा नै हुन सकेको बताएका छन् । उनले निर्वाचन रोक्ने विभिन्न खेल भए पनि आयोगको दृढ अडान र सञ्चारमाध्यमको सशक्त निगरानीका कारण त्यस्ता खेलहरू असफल भएको बताए ।

आइतबार विभिन्न पत्रपत्रिकाका सञ्चालक र सञ्चारकर्मीसँगको छलफलमा प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ३० वैशाखमा भयरहित वातावरणमा निर्वाचन हुने स्पष्ट पारे । ‘अब कोही पनि आत्तिनुपर्ने अवस्था छैन, ३० वैशाखमा भयरहित वातावरणमा स्वच्छ किसिमले निर्वाचन हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

उनले स्थानीय तहको निर्वाचन घोषणा भएपछि यसलाई समयमा नै सम्पन्न गराउन सञ्चारमाध्यमले सशक्त खबरदारी गरेकोमा सञ्चारमाध्यमको प्रशंसा गरे । थपलियाले सत्ता पक्ष र प्रतिपक्ष दुवैले आयोगलाई नकारात्मक रूपमा हेर्ने गरेकोमा दुःख व्यक्त गर्दै आयोग आचारसंहिता पालना गराउन प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले सबै राजनीतिक दल र नेताले आचारसंहिता पालना गरेमा मात्रै निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न हुन सक्ने बताए ।

प्रमुख आयुक्त थपलियाले आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको जनाए । उनले निर्वाचनमा हुने विभिन्न खाले फजुल खर्चलाई नियन्त्रण गरिएको र आयोगले मितव्ययिता अपनाएको बताए । ‘अघिल्लो चुनावमा १० रुपैयाँ परेको सामानलाई अहिले ४ रुपैयाँमा खरिद गर्न सफल भएका छौं, सबै शीर्षकमा खर्च घटाउँदै मितव्ययी किसिमले निर्वाचन सम्पन्न गर्न लागेका छौं,’ थपलियाले भने । राजधानी दैनिकमा खबर छ ।