काठमाडौ, २० चैत्र । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।
आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताउनुभयो । आज दिउँसो विभिन्न स्थानबाट र्यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ।
भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले बताउनुभयो । आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उहाँले जानकारी दिनुभयो । काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने बताएका छन् ।