विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने समेत बताएका हुन् ।
पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनको भनाई छ । उनले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि सो पद स्वीकार नगरेको जिकिर गरे ।
फरक प्रसङ्गमा उनले भारतले राजसंस्था पुनर्स्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि खण्डन गर्नुपर्ने बताए । अध्यक्ष नेपालले हराएर गएको राजतन्त्र कुनै हालतमा नफर्किने भन्दै राणा शासन पनि फर्किन्छ र ? भन्दै प्रश्न गरे । अध्यक्ष नेपालले विगत १० वर्षको संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधन गर्दा उपयुक्त हुने समेत उल्लेख गरे ।