काठमाडौँ : नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भएको भीषण आगलागीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। मंगलबार भएको उक्त आगलागीले सम्पूर्ण बजार क्षेत्र ध्वस्त बनाएको छ, जसमा २७ वटा घर जलेर नष्ट भएका छन्। तीमध्ये ११ घरमा पसल सञ्चालनमा रहेको पुष्टि भएको छ। अनुमानित ७ करोड रुपैयाँ भन्दा धेरै क्षति भएको प्रहरीको अनुमान छ।
नेता रावलले सामाजिक सञ्जालमार्फत पीडितहरूप्रति सहानुभूति र ऐक्यबद्धता जनाउँदै लेखेका छन्, ‘अछामको बान्निगढी जयगढ गा.पा. मा रहेको जयगढ बजारमा चैत २६ गते आगलागीबाट दुई दर्जन घरहरू नष्ट भएको र ६/७ करोडको क्षति भएको सुन्दा धेरै दु:ख लागेको छ। पीडितहरूप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दछु। साथै क्षतिको मूल्याङ्कन गरी राहत र क्षतिपूर्ति प्रदान गर्न केन्द्र र प्रदेश सरकार एवं स्थानीय तहसँग माग गर्दछु।’


